मक्कामदिना जाने २६८ हजयात्रीलाई बिदाइ गरिँदै

मुस्लिम जनसंख्याको ०.०१ प्रतिशतलाई प्रत्येक वर्ष हज गर्न जाने कोटा सुविधा छ। जसअनुसार यसवर्ष एक हजार १८० हजयात्री मक्कामदिना जाँदैछन्।  

काठमाडौँ– साउदी अरेबियाको मक्कामदिनामा हज गर्न जाने मुस्लिम समुदायको पहिलो समूह आज त्यसतर्फ प्रस्थान गर्दैछ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले २६८ जनालाई राती १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिदाइ गर्नेछन्। मुस्लिम जनसंख्याको ०.०१ प्रतिशतलाई प्रत्येक वर्ष हज गर्न जाने कोटा सुविधा छ।

जसअनुसार जेठ २४ गतेसम्ममा एक हजार १८० हजयात्री साउदी अरेबिया जाने गृह मन्त्रालयले जनाएको छ। उनीहरू ४५ दिनको हजपछि स्वदेश फर्किने छन्। नेपालमा मुस्लिम समुदायको जनसंख्या १२ लाख हाराहारी छ।

हज समितिको सिफारिसका आधारमा हजयात्रीको छनोट हुने गृह मन्त्रालयका उपसचिव  विश्व कुइँकेलले जानकारी दिए।