पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा एकापसमा जुधाउने चलनलाई जात्राको मुख्य आकर्षणका रूपमा लिइन्छ।
काभ्रे– काभ्रेपलान्चोकको पनौतीमा ज्येष्ठ त्रयोदशीदेखि हिलेजात्रा (ज्याःपुन्ही) शुरू भएको छ। स्थानीयले पूर्णिमाको रात रहुन्जेल हिलेजात्रा मनाउँछन्। जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको पुरानो चलन हो।
ज्येष्ठ शुक्ल पूर्णिमाका दिन जात्रा नमान्ने र मंसिर पूर्णिमाको रात निद्रा नपुर्याउनेले सुख पाउँदन भन्ने किंवदन्ती छ। स्थानीय बुढापाकाको भनाइमा उक्त जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य पनि छ। जात्रा सकेर खेतमा रोपाइँ शुरू गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भन्ने गरिएको छ।
परापूर्वकालमा यसै समयमा पनौती पारिपट्टिका ब्रम्हायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुंममतीबाट वासुकि नाग पनौती आएर पुण्यमाताको उर्लँदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तारेको इतिहास छ। त्यसैको स्मरणमा जात्रा शुरू भएको समाजसेवी तुयुकाजी ताम्राकार बताउँछन्। कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष औपचारिक पूजाअर्चना मात्रै गरिएको थियो। मान्यताअनुसार जात्रा मनाएको चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ। अनि वर्षा शुरू हुन्छ। “जात्राको अन्तिम दिन पनि वर्षा हुनैपर्छ भन्ने जनविश्वास छ र प्रत्येक वर्ष यस्तै हुँदै पनि आएको छ,” ताम्राकारले भने।
पुण्यमाता खोलामा हरेक वर्षको त्रयोदशीका दिन नागको प्रतीकका रूपमा दुईवटा बाँस तेर्स्याइने र एक घण्टा लगाएर तर्ने गरिन्छ। तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठूलो जात्राका रूपमा लिने गरिएको छ। जात्रा मनाउने क्रममा त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका देवीदेवताका मठमन्दिरमा पूजाअर्चना गरिन्छ।
साथै इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा रहेको गणेशको मूर्तिलाई खटमा राखी धुमधामकासाथ नगर परिक्रमा गराइन्छ। पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा एकापसमा जुधाउने चलनलाई जात्राको मुख्य आकर्षणका रूपमा लिइन्छ। यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रूपमा लिँदै युवायुवतीको सहभागिता उत्साहजनक रहने गर्छ।
स्थानीय वृद्धवृद्धाको भनाइमा पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुपधारण गरी महादेवलाई लखेट्छिन्। महादेव त्रिवेणीमा हामफाली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरी भद्रकालीलाई भगाउँछन्। भाग्ने र पिछा गर्ने कार्यका रूपमा रथ जुधाइन्छ। रथ जुधाइसँगै अबिरजात्रा पनि हुन्छ।
लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने इन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन्। सोही क्रममा ब्रम्हायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन्। धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनजन्य प्रस्तुतिका रूपमा लिइएको हो। युवायुवती रथ जुधाउन तछाडमछाड गर्छन्।
इन्दे्रश्वर मन्दिरका पुजारी रमेश जंगमका अनुसार रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिले–पहिले झिसमिसेअगावै रथ जुधाइने गरिएको थियो। विशेषतः काम–क्रीडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआए पनि पछिल्ला केही वर्षदेखि दिउँसो जुधाउने गरिएको छ।
जात्राको परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुन्डा बोकेर कर्माचार्य (आचाजू)हरू सुस्तरी हिँड्नुपर्छ। यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने भनिन्छ। कर्माचार्य खोलापारि गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास गरिन्छ। कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठूलो अनिष्ट हुने, खडेरीले दुःख दिनेजस्ता आध्यात्मिक विश्वास मनमा पाल्नेले जात्रालाई निरन्तरता दिएको विश्वास गरिँदै आइएको छ।
जात्रामा चिउली र केरा खाएर घुम किन्नै पर्ने मान्यता छ। यसपछि यी सामग्रीको बिक्री शुरू हुने पनि जनविश्वास छ। जात्रामा चिउली चपाएर जिब्रो पड्काउँदै युवायुवती हौसिएका देखिन्छन्। स्थानीयले जात्रा अवधिभर आफ्ना पाहुना बोलाई स्वागत सत्कारकासाथ भोज गरिन्छ। भोजका लागि प्रत्येक घरमा बलि दिने प्रथा अझै कायम छ।
स्थानीय मुख्य पर्व जनाउँदै पनौती हिलेजात्राको अन्तिम दिन नगरपालिकाले सार्वजनिक बिदासमेत दिने गरेको छ। राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख छ। तीन नदीको संगमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्मावती नदी गुप्त रूपमा बहिरहेको मान्यता छ।
भारतको प्रयागमा गंगा र यमुना नदीको संगममा गुप्त रूपले सरस्वती नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुण्यमाता नदीलाई लीलावती र गुप्त रूपले बहेकी ब्रह्मायणी मन्दिरको मुनिबाट दूध बग्ने नदीलाई पद्मावती मानिँदै आइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
