खोला बढेर विद्यार्थी आउन नसक्दा त्रैमासिक परीक्षा स्थगित गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयसिं घिसिङ बताउँछन्।
हेटौंडा- मकवानपुरको बकैया गाउँपालिका– १२ धेत्रे दमारमा रहेको कालाभैरव प्राथमिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई प्रत्येक बिहान ९ बजे खोला तार्नुपर्ने विद्यालयका प्रधानाध्यापक चेतबहादुर घलेको दैनिकी नै बनेको छ। बाटोमा पर्ने सिमात खोलामा पुल नहुँदा विद्यार्थीलाई खोला तार्नुपर्ने उनको दैनिकी हो।
विद्यार्थीलाई खोला तारेर विद्यालय पुगेपछि भिजेकै कपडामा अध्यापन गराउने गरेको प्रधानाध्यापक घले बताउँछन्। २०७० सालबाट शिक्षण पेशामा लागेका ३९ वर्षीय घले करिब आठ महिनाअघि घरनजिकै रहेको उक्त विद्यालयमा सरुवा भएर आएका हुन्।
उनी भन्छन्, “घर पाएक पारेर त आइयो तर विद्यार्थीको सुरक्षाका कारण भिजेकै कमडामा पढाउन बाध्य छु।” खोला तारेर विद्यालय पुर्याइएका विद्यार्थी पढ्ने विद्यालय भवनको पनि एकपाखो पर्खाल भूकम्पले भत्काएर जोखिम भइसकेको उनी बताउँछन्।
वर्षामा मौसम हेरेर कहिलेकाहीँ त बीचमा नै विद्यालय छोडेर विद्यार्थीसहित खोला तरिहाल्नुपर्ने बाध्यता रहेको घलेले बताए। कतिपय बालबालिका त खोलाको जोखिमकै कारण विद्यालय नआउने गरेको उनको भनाइ छ।
उनले आफू कालाभैरवमा आइसकेपछि वडा कार्यालय, गाउँपालिका र मन्त्रालयसम्म विद्यालय भवन र पुलको विषय लिएर पटकपटक अनुरोध गर्न पुगेको बताउँछन्। उक्त स्थानबाट नजिक रहेका अरू दुईवटा विद्यालय पनि छन् तर उक्त विद्यालयमा पुग्न पनि एकदेखि दुई घण्टा थप समय लाग्ने प्रधानाध्यापक घलेले जनाए।
कक्षा ३ सम्म अध्ययन हुने विद्यालय भवन निर्माणका लागि विभिन्न निकायमा पहल गर्दा ‘एस्थर बेञ्जामिन’ र ‘चाइल्ड रेस्क्यु’ नामक सामाजिक संस्थाले असार महिनामा दुई कोठे भवन बनाउने प्रतिबद्धता जनाएको तर सम्झौता भने हुन बाँकी रहेको प्रधानाध्यापक घलेले जानकारी दिए।
सिमात खोला तर्न वर्षामा विद्यार्थीले समस्या भोग्नुपरेको उनको भनाइ छ। तामाङ समुदायको बाहुल्यता रहेको विद्यालयमा हाल २७ जना विद्यार्थी अध्ययनरत रहेका छन्। जसमध्ये छात्रा १७ र छात्र १० जना रहेको विद्यालयले जनाएको छ।
हाल यहाँ बालकक्षादेखि कक्षा ३ सम्मको अध्ययन हुने गरेको छ। बकैयाको धेत्रे, चुवार पाखा, गोदाम डाँडा, अंजिगरेलगायतका स्थानबाट विद्यार्थी करिब ४५ मिनेट पैदल हिँडेर विद्यालय पुग्ने गरेका छन्। भदौ ३१ गते ठूलो पानी परेका कारण विद्यार्थीले खोला तर्न नसक्दा परीक्षा नै स्थगित गर्नुपरेको प्रधानाध्यापक घलेले बताए।
विद्यालयले हाल लिइरहेको त्रैमासिक परीक्षामा सहभागी हुन विद्यार्थी आउन नसकेपछि परीक्षा स्थगित गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयसिं घिसिङले बताए। प्रधानाध्यापकसँगै आफू पनि विद्यार्थीलाई खोला तार्न जाने गरेको उनले बताए।
धेत्रे र चुवार पाखाका बालबालिकालाई खोला बढेका बेला शिक्षक र स्थानीयले साना बालबालिकालाई खोला तारिदिने गरेको स्थानीय समाजसेवी रुपेन घलेले जानकारी दिए। स्थानीय, अभिभावक तथा विद्यालयका प्रअले झोलुङ्गे पुल नहुँदा विद्यार्थी विद्यालय आवतजावत गर्न समस्या परेको पालिका तथा वडालाई जानकारी गराए पनि झोलुङ्गे पुल निर्माण गर्न सरोकारवाला निकायले चासो नदेखाएको उनीहरूको गुनासो छ।
विसं २०५३ मा स्थापना भएको यस विद्यालयमा राहत दरबन्दी एक जना प्रधानाध्यापक र एक जना कार्यालय सहयोगी मात्रै रहेका छन्। बालकक्षा शिक्षिका भने अभाव रहेको विद्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
