रुसमाथि आणविक हतियारको सीमा तोक्न अमेरिकाको आग्रह

सुलिभानले अमेरिका र रुसबीच भएको पछिल्लो हतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ सन् २०२६ मा सकिँदै गर्दा अमेरिका नयाँ सन्धि गर्न इच्छुक रहेको बताए।

ह्वाइट हाउसका एक उच्च अधिकारीले रुससँगको आणविक हतियारको वर्तमान सीमा कायम राख्न प्रस्ताव गरेका छन् भने उदीयमान शक्ति चीनलाई भविष्यमा हतियार नियन्त्रण प्रयासको केन्द्रमा राख्नुपर्ने बताएका छन्। 

राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले वासिङ्टनमा आयोजित राष्ट्रिय हतियार नियन्त्रण संघको वार्षिक बैठकमा जो बाइडन प्रशासनले शीतयुद्धपछिको आणविक परिदृश्यमा ‘पर्याप्त’ र ‘गहिरो’ समस्याको सामना गर्ने रुपरेखा प्रस्तुत गर्दै उक्त टिप्पणी गरेका हुन्। 

सुलिभानले अमेरिका र रुसबीच भएको पछिल्लो हतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ सन् २०२६ मा सकिँदै गर्दा अमेरिका नयाँ सन्धि गर्न इच्छुक रहेको बताए।

यद्यपि, यसबीचमा वासिङ्टनले विश्वका दुई प्रमुख आणविक शक्ति राष्ट्रहरूलाई उक्त सन्धिको मूल मर्मअन्तर्गत राख्न चाहेको छ। सन्धिमा आणविक सम्पन्न राष्ट्रले एक हजार ५५० रकेट मात्र राख्न पाउने सीमा निर्धारण गरिएको छ।

सुलिभानले भने, “जबसम्म रुसले सन्धिको पालना गर्छ तबसम्म हामी केन्द्रीय सीमामा अडिग रहन तयार छौँ।”

उनले मस्कोलाई सन् २०२६ पछिको संरचनाका लागि नयाँ वार्ता शुरू गर्न आह्वान गरे। “हाम्रा सबै द्विपक्षीय मतभेदहरू समाधान गर्न पर्खनुको सट्टा, संयुक्त राज्य अमेरिका आणविक जोखिम व्यवस्थापनका लागि रुसलाई संलग्न गर्न तयार छ,” सुलिभान भने।