भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मेरा बीचमा खुलेर जसरी कुरा भयो, एउटा विश्वासको राम्रो वातावरण बन्यो। त्यो स्तरमा विगतमा खुलेर कुराकानी त्यति हुने गर्दैनथ्यो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा सकेर शनिबार साँझ स्वदेश फर्कँदै छन्। भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता भएर विभिन्न द्विपक्षीय सम्झौता एवं समझदारी भएका छन्। दुवै देशका प्रधानमन्त्रीबाट समानता, आपसी सम्मान र आपसी विश्वासका आधारमा मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा सवल बनाउने प्रतिबद्धता व्यक्त भएको छ। यसैक्रममा प्रधानमन्त्री दाहालसँग राससले इन्दौरमा गरेकाे कुराकानीको सम्पादित अंश:
प्रधानमन्त्रीज्यू, यहाँको चौथो भारत भ्रमणलाई कसरी मूल्यांकन गर्नुभएको छ?
यो भ्रमण पहिलेका तुलनामा बढी फलदायी, दूरगामी प्रभाव पार्ने, नेपालको राष्ट्रिय हितमा केन्द्रित रह्यो। मुख्यतः आर्थिक क्रियाकलापमा सकारात्मक सन्देश दिने सफल भ्रमणका रुपमा मैले महसुस गरेको छु।
भ्रमण सफलताका आधारहरू के के हुन्?
पहिलो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मेरा बीचमा खुलेर जसरी कुरा भयो, एउटा विश्वासको राम्रो वातावरण बन्यो। त्यो स्तरमा विगतमा खुलेर कुराकानी त्यति हुने गर्दैनथ्यो। यो हिसाबले पनि यसलाई मैले भिन्न र मौलिक ठानेको छु। दोस्रो, सीमा समस्या हल हुन्छ कि हुँदैन, के होला भन्ने प्रश्न थियो, छ पनि, त्यसमा यसपटक नयाँपन के देखियो भने सिमानाको समस्या सदाका निम्ति हल गर्नुपर्छ, भन्ने कुरा भयो। प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमा मैलेभन्दा पनि पहिले सिमानाका समस्या समाधान गर्नुपर्छ भनेर बोल्नुभयो। नेपाल–भारत सम्बन्धलाई हिमालयको उचाइसम्म पुर्याउनुपर्छ भन्ने जसरी राखियो, त्यसले नयाँ सन्देश दिएको छ।
भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई ‘सुपरहिट’ बनाउने र हिमालजस्तै उचाइ दिने भन्नुभएको छ, यसको अर्थ के हुन सक्छ?
उहाँले पहिलो पटक सन् २०१४ मा नेपाल भ्रमणका क्रममा सदनमा बोल्दा ‘हिट’को अर्थ लगाएर नेपाल–भारत सम्बन्धको चर्चा गर्नुभएको थियो। बीचमा जुन ‘गति’मा जानुपर्थ्यो गएन। अब त्यसलाई ‘सुपरहिट’ बनाउनुपर्छ भनेर उहाँले त्यतिबेलाको आफ्नो सफल भ्रमणलाई जोडेर भन्नुभएको मैले महसुस गरेको छु। नेपाल–भारत सम्बन्धलाई धेरै नै माथि लानुपर्छ भनेर भन्ने नै त्यसको अर्थ हो। यो दुई शब्दको प्रयोगबाट भारतीय प्रधानमन्त्री निकै विश्वासको साथमा अब नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा रहेको मैले ठानेको छु।
सिमानाका समस्या समाधान गर्नुपर्छ, यसलाई अड्काइराख्नु हुँदैन भन्नेमा दुवै देश एउटास्तरमा आइपुग्नु नै ठूलो कुरा लाग्छ। नेपाल–भारतबीचको सीमा समस्यालाई राखिराख्न हुँदैन, यसलाई समाधान गर्नुपर्छ। बंगलादेश मोडल पनि एउटा अवसर हुनसक्छ, अर्को पनि हुन सक्छ। नेपालले इतिहासको तथ्यतथ्यांकका आधारमा आफ्नो भनेको भूमिलाई भारतले छाड्दा पनि समाधान भई नै हाल्छ। नेपालमा पनि केही सीमासम्बन्धी जानकारले बंगलादेश जाने बाटो हामीलाई दिने हो भने समस्या समाधान भइहाल्छ भनेर ल्याउने गर्नुभएको छ। तर, यी विकल्प अहिले भारत सरकारसँग औपचारिक रूपले प्रवेश गरेको विषय होइनन्। जे भए पनि सिमानाका समस्या अब हल गर्नुपर्छ भन्ने प्रतिबद्धताको तह अहिले नेपाल–भारतको अर्को उचाइमा पुगेको छ। यो सत्य हो।
भारतसँगको विद्युत् व्यापारमा केही महत्वपूर्ण निर्णय भएका छन्, १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरेर बिक्री गर्ने अवस्था सिर्जना भएको हो?
नेपालमा लामो समयदेखि बिजुली उत्पादन गर्ने तर बजारको सुनिश्चित नहुँदा उत्पादन मात्रै गरेर के हुन्छ भन्ने प्रश्न लगानीकर्ता र नेपाली विज्ञको मनमा रहँदै आएको प्रश्न हो। भारतसँग दीर्घकालीन व्यापार सम्झौता होस् भन्ने नेपालको चाहना हो। यसपटक त्यो विषयमा सम्झौता सम्पन्न भयो। १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने स्वयं भारतीय प्रधानमन्त्री मोदीले आफैँले प्रष्ट भाषामा भन्नुभयो। त्यसको औपचारिकता करिबकरिब केही दिनभित्र सबै टुंगिन्छ। यो ठूलो उपलब्धि हो।
बजार सुनिश्चिताको अभावले लगानीकर्तालाई लगानी गर्न जुन समस्या हुन्थ्यो, त्यो अब रहेन। अब हामीले छिटोछिटो उत्पादन गर्ने दिशातर्फ जान सकिन्छ भन्ने मलाई लाग्छ। जे भए पनि यो समझदारी नेपालको राष्ट्रिय हित र दीर्घकालीन हितका निम्ति धेरै नै महत्वपूर्ण सहमति हो। यसले नेपालको अर्थतन्त्रलाई नयाँ गति दिन्छ भन्ने मेरो विश्वास हो। पश्चेश्वर बहुउद्देश्यीय आयोजनाको तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने, एक वर्षमा मोडालिटी निर्माण गर्ने भनेर भनिएको छ। २६ वर्षदेखि रोकिएको कामलाई नयाँ ढंगले अगाडि बढाउने प्रक्रिया शुरू भएको छ। यो नेपालका लागि खुशीको कुरा हो। नेपाल, भारत र बंगलादेशबीच विद्युत् व्यापारका सम्बन्धमा जे सहमति बन्यो। भारत र बंगलादेश, नेपाल र बंगलादेश, नेपाल र भारतबीच सबैका बीचमा सहमति भइसकेको छ।
१० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने घोषणा केबल घोषणामै सीमित हुने हो कि भन्ने आशंका उब्जेको छ, यो कसरी अगाडि बढ्छ?
यसमा कसैले पनि आशंका गर्नु कुनै ठाउँ छैन। दुईवटा प्रधानमन्त्रीले औपचारिक वार्तापछि आयोजित पत्रकार सम्मेलनमा घोषणा गरिएको हो। भारतले केही प्राविधिक कारणबाट ‘क्याबिनेट’ बैठक बस्न बाँकी हो भनेर हामीलाई विश्वास दिलाएको छ। प्रधानमन्त्री मोदीजस्तो शक्तिशाली नेताले घोषणा गरेको कुरामा शंका गर्नु हाम्रै कमिकमजोरी हो जस्तो हुन्छ। शंका गर्ने कुनै ठाउँ छैन, यो अगाडि बढ्छ।
हवाई प्रवेश बिन्दुको विषय नेपालले उठाएको थियो, यस सन्दर्भमा के कुराकानी भयो?
एयर रुटका विषय नेपालले धेरै पहिलेदेखि उठाउँदै आएको विषय हो। यसपटक पनि मैले धेरै तयारीका सन्दर्भमा पनि सम्बन्धित मन्त्रालय र अधिकारीलाई यस विषयमा छलफल गर्न पहिले पनि दिल्ली पनि पठाएको हो। कुराकानी पनि भएको हो। सिमराबाहेक हामीलाई सिधैँ अन्तर्राष्ट्रिय एयर रुटका रूपमा कम्तीमा एउटा रुट दिन भनेको हो। त्यहीस्तरमा त यो पुगेन अहिले, तर कम ‘अल्टिच्यूड’का जहाज भारतका विभिन्न शहर र नेपालगञ्ज जोड्ने भन्ने भएको छ, यो प्रारम्भिक राम्रो संकेत चै हो।
भारतको सबैभन्दा सफा शहर इन्दौरको भ्रमण गर्नुभयो, यहाँको फोहर व्यवस्थापनसम्बन्धी अभ्यासका बारेमा पनि जानकारी लिनुभयो। यसबाट केही सिक्न सकिन्छ?
यसबाट हामीले पाठ सिक्ने कुरा छन्। मैले के महसुस गरेँ भने सबैभन्दा ठूलो कुरा सरकारको प्रतिबद्धता हो। सरकार कति दृढ इच्छाशक्तिका साथ अगाडि जान चाहन्छ भन्ने महत्वपूर्ण देखेँ। मध्यप्रदेश सरकार र इन्दौर नगरपालिकाको जुन पहलकदमी र प्रतिबद्धता देखेँ, यो धेरै ठूलो हो। सफा शहर बनाउन हर व्यक्तिले मेहनत गर्नुपर्छ भन्ने मनोभावना र चेतना पैदा गर्ने कुरा महत्वपूर्ण रहेछ। हाम्रा सन्दर्भमा आमजनतामा चेतना ल्याउनुपर्छ भन्नेमा पनि यो सम्बन्धित छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
