इपीजीको विषयलाई उचालेर २ देशबीचको सम्बन्ध बिगार्न चाहिनँ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा इपीजीको विषयलाई उचालेर आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको परिणाममुखी वातावरण बिगार्न नचाहेको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रबुद्ध व्यक्ति समूह (इपीजी)को विषयलाई उचालेर दुई मुलुकबीचको सम्बन्ध बिगार्न नचाहेको बताएका छन्। भारतको औपचारिक भ्रमण पूरा गरी शनिबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले इपीजीको विषयलाई उचालेर आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको परिणाममुखी वातावरण नेपालले बिगार्न नहुने बताए।

विमानस्थलमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै उनले भने, “अहिले तपाईंहरूले भन्नु भयो नि इपीजीको कुरा। यो हामी सबैको चासोको विषय हो। अब मैले आफ्नो ढंगले कुरा नगरेको छैन। आफ्नो ढंगले कुरा गरेको छु। तर, अहिले यो विषयलाई बढी उचालेर अब यो आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको जो परिणाममुखी वातावरण बनेको बिगार्नु उचित थिएन।”

प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा व्यापार सम्झौता, पारवहन सन्धि नवीकरण, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका सम्झौता एवं समझदारी भएको छ। उनले अब सबै मिलेर भारत भ्रमणका क्रममा भएका सहमति, समझदारी कार्यान्वयनमा लैजानुपर्ने बताए। “कार्यान्वयनमा लैजानका लागि हामीले राम्रो वातावरण बनाउन आवश्यक छ,” उनले भने।

प्रधानमन्त्री दाहालले आफूले इन्दोर भ्रमणको क्रममा महाकालेश्वर मन्दिरमा प्रोटोकल नमिचियोस् भनेर गेरु वस्त्र धारण गर्नु परेको बताए। “त्यहाँ महाकालेश्वरमा के रहेछ भने मुख्य अतिथिले त्यो (गेरु वस्त्र) लगाउनै पर्ने प्रोटोकल रहेछ। त्यो प्रोटोकल मिचेर नलगाऊ भने भारतका करोडौँ जनताको मनमा चिसो पस्ने भयो नेपालप्रति र नेपालको प्रधानमन्त्रीप्रति,” प्रधानमन्त्री दाहालको स्पष्टीकरण थियो। 

प्रधानमन्त्री दाहालले यसलाई नेपालको सर्वोपरि हितका लागि गरिएको सांस्कृतिक कूटनीति भनेर बुझ्न पनि आग्रह गरे। “यसलाई सांस्कृतिक कूटनीतिको रूपमा लिनुपर्ने हो। नेपालको बृहत्तर हितमा गरिएको कदम हो भनेर बुझ्नु पर्दछ,” उनले भने। उनले आफ्नो भारत भ्रमणले दुई मुलुकबीचको संशयमा पुगेको सम्बन्ध विश्वासमा रूपान्तरण गर्न सफल भएको दाबी गरे।