निर्वाचन अभियान शुरूआत गर्न ओली दार्चुलामा, देउवा र प्रचण्ड आफ्नै क्षेत्रमा व्यस्त

एमालेले शुक्रबार दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान शुरू गर्दै छ। अभियानकाे उद्घाटन गर्न अध्यक्ष केपी शर्मा ओली दार्चुला पुगेका छन्। 

काठमाडौँ- निर्वाचन प्रचारको समय शुरू भएसँगै प्रमुख तलका शीर्ष नेताको व्यस्तता बढेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली चुनावीसभालाई सम्बोधन गर्न दार्चुला पुगेका छन्। 

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भने आफ्नो निर्वाचन क्षेत्रमै केन्द्रित छन्। एमालेले दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान शुरू गर्दैछ। सोही कार्यक्रममा सहभागी हुन ओली हेलिकप्टरमार्फत दार्चुला पुगेका हुन्।

तत्कालीन ओली नेतृत्वको सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटेर नेपालको चुच्चे नक्सा सार्वजनिक गरेको थियो। दार्चुलाबाट अभियान शुरू गरेर एमालेले यो विषयलाई चुनावमा मुख्य मुद्दा बनाउन खोजेको छ।

आफ्नो पालामा गरेका कामको प्रचार र सत्ता गठबन्धनविरुद्ध आक्रामक हुने एमालेको रणनीति छ। शुक्रबार नै बैतडी र कञ्चनपुरको आमसभालाई सम्बोधन गर्ने एमाले नेता गणेशसिंह ठगुन्नाले जानकारी दिए। ४० जिल्लाका चुनावी सभालाई ओलीले सम्बोधन गर्नेछन्। 

सुदूरपश्चिमबाट शुरू भएको ओली नेतृत्वको देशव्यापी चुनावी प्रचार अभियान पूर्वी नेपालमा पुगेर सम्पन्न हुनेछ। 

प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा निर्वाचन प्रचारमा व्यस्त छन्। डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका देउवा कात्तिक २२ सम्म जिल्लामै रहनेछन्। सो क्रममा उनले विभिन्न सात ठाउँमा हुने सभालाई सम्बोधन गर्ने कांग्रेस जिल्ला सभापति भीमबहादुर साउदले जानकारी दिए।

उनले शुक्रबार नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। देउवाले बिहीबार डडेल्धुराबाटै निर्वाचन प्रचार थालेका थिए। 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफू उम्मेदवार रहेको गोरखा–२ मा छन्। शुक्रबार उनी गोरखा नगरपालिका–१४ याङकोटमा कार्यकर्ता भेटघाट गरिरहेका छन्। प्रचण्ड केही दिन आफ्नो निर्वाचन क्षेत्रमै व्यस्त हुने बताइएको छ। 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबारदेखि चुनावी अभियान शुरू गर्ने भएको छ। माओवादी अध्यक्ष प्रचण्ड उम्मेदवार रहेको गोरखा–२ स्थित पालुङटारबाट राप्रपाले अभियान गर्न लागेको हो।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताले पालुङटारमा हुने चुनावी सभालाई सम्बोधन गर्ने राप्रपाले जनाएको छ। शनिबार नै लिङ्देनले नवलपुर र नवलपरासीका चार वटा सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। राप्रपाले कात्तिक २५ गते काठमाडौँ, कास्की र स्याङ्जामा आमसभा गर्नेछ।