प्रतिनिधिसभामा प्रधानमन्त्री–सांसद सवालजवाफ

प्रधानमन्त्री दाहाललाई सांसदहरूले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति, सीमा विवाद र नागरिकता विधेयक प्रमाणीकरणका विषयमा प्रश्न गर्दा प्रतिनिधिसभामा चर्काचर्कीको स्थिति सिर्जना भएको छ।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण, त्यहाँ उनले दिएको अभिव्यक्ति र राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई लिएर प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री र सांसदहरूबीच सवालजवाफ भएको छ। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नागरिकता विधेयक प्रमाणीकरण र भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए भने प्रधानमन्त्री दाहालले त्यसको बचाउ गरे।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल चारदिने औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्किएका हुन्। दाहाल प्रधानमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो। आफ्नो भारत भ्रमणबारे सोमबार प्रतिनिधिसभालाई जानकारी गराएका प्रधानमन्त्रीले त्यहाँ सांसदहरूका तिखा प्रश्नको सामना गर्नुपर्‍यो।

प्रधानमन्त्रीलाई भारत भ्रमणबारे प्रश्न गर्ने क्रममा रास्वपा सांसद शिशिर खनालले 'प्रधानमन्त्री भैँसी चढेर आएको' अभिव्यक्ति दिएपछि केहीबेर सत्तापक्ष र प्रतिपक्षी सांसदबीच नोकझोकसमेत भयो। त्यस्तै, प्रधानमन्त्री दाहालले धारणा राखिरहे‍का बेला विपक्षी दलका सांसदले उठेर बैठक अवरुद्ध पारेपछि सभामुख देवराज घिमिरेले बारम्बार बस्न आग्रह गरेका थिए।

बैठकमा सांसदहरूले विशेषगरी प्रधानमन्त्री दाहाललाई नागरिकता विधेयक प्रमाणीकरण र भारत भ्रमणका क्रममा बंगलादेशसँग पहुँचका लागि कालापानी, लिपुलेक लिम्पियाधुराबारे विचार गर्न सकिन्छ भन्ने अभिव्यक्तिबारे प्रश्न गरेका थिए। प्रधानमन्त्री दाहालले पनि यिनै विषयको प्रतिरक्षामा समय खर्चिएका थिए।

प्रधानमन्त्री दाहालले संसद्मा प्रष्टीकरण दिँदै आफूले लिपुलेक, लिम्पियाधुरा र कालापानी साट्ने प्रस्ताव भारतीय पक्षसँग नराखेको बताए। सो भूमि साट्न सकिने अभिव्यक्ति दिएको भन्दै एमालेसहितका विपक्ष दलका सांसदले बैठक अवरुद्ध पारिरहेका बेला आफूले भारतीय समकक्षी मोदीसँग कालापानी, लिपुलेक, लिम्पियाधुरासहित सीमा समस्या समाधान गर्नैपर्ने कुरा प्रस्टसँग राखेको भन्दै आश्वस्त पार्ने प्रयासमा प्रधानमन्त्री दाहाल लागिरहे। सीमा समस्या समाधान गर्ने विषय भारतीय प्रधानमन्त्री मोदीले पहिलो पटक संयुक्त प्रेसमिटमा स्पष्टसँग राखेको उल्लेख गर्दै उनले आफूले सिधा र प्रष्टसँग राखेको विषयलाई जनतामा भ्रम फैलाउने गरी प्रचार गरेकोमा आफूलाई पीडाबोध भएको अभिव्यक्ति दिए।

“नेपालको राष्ट्रिय हित प्रवर्द्धन गर्ने हेतुले भ्रमण गरेको छु, बिगार्ने हेतुले होइन। यसकारण माननीय सदस्यहरूलाई यथार्थ जे हो, तथ्य जे हो, त्यसलाई त्यही रूपमा बुझिदिन अनुरोध गर्छु। राम्रो भएकोमा राम्रो भयो भन्ने आँट गर्नु पनि त ठूलो कुरा हो,” नेपाल–भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न मोदीसँग गम्भीर ढंगले आग्रह गरेको दाबी गरदै दाहालले भने। 

त्यस्तै, प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकको बचाउ गर्दै संघीय संसद्का दुवै सदनले दुई पटक पारित गरी पठाएको विधेयक फेरि सदनमै ल्याउनु संसद्कै अपमान हुने तर्क गरे। राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गरिएकोप्रति प्रतिपक्षी दलका सांसदले विमति जनाइरहेका बेला प्रधानमन्त्री दाहालले संसद् पनि अविच्छिन्न उत्तराधिकारवाला संस्था भएकाले अघिल्लो सदनले विधिसम्मत ढंगले पारित गरेको विधेयक अहिलेको संसद्ले मान्दिनँ भन्न नमिल्ने जिकिर गरे।

विधेयक प्रमाणीकरणको समय गुजारेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको र त्यसलाई खारेज गर्न पनि सम्भव नभएकाले राष्ट्रपतिले प्रमाणीकरण गर्नुपरेको उनले बताए। “एउटा राष्ट्रपतिले संविधानको संरक्षक र पालकको हैसियतमा कुरा गर्नुपर्ने दायित्व पूरा नगरेर होल्डमा राखेको स्थितिमा विधेयकलाई खारेज गर्न त सम्भव थिएन। फेरि फिर्ता पठाउन पनि सम्भव थिएन” उनले भने।

भैँसीको विषयले संसद्मा नोकझोक
‘प्रधानमन्त्री भारतबाट फर्किंदा भैँसी चढेर आएको’ भन्ने अभिव्यक्तिले प्रतिनिधिसभा बैठक केहीबेर अवरुद्ध हुन पुग्यो। बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण र नागरिकता प्रमाणीकरणको सम्बन्धमा मन्तव्य राखेलगत्तै सभामुख घिमिरेले सांसदहरूलाई प्रश्न सोध्न समय दिए। त्यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले 'आफूहरूले प्रधानमन्त्री विमान चढेर पोखरा विमानस्थल झर्नुहुन्छ होला भनेर अपेक्षा गरे पनि दुर्भाग्यवश भैँसी चढेर आउनु परेको कुरा आए' भनेर अभिव्यक्ति दिएपछि माओवादी केन्द्रका सांसदहरूले आपत्ति जनाएका थिए।

सभामुख घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई समय दिएसँगै उनले संसद्मा अमर्यादित शब्द प्रयोग भएकाले सो शब्द रेकर्डबाट हटाउन माग गरे। “संसद्मा मर्यादित शब्द प्रयोग हुनुपर्छ। भैँसी चढेर आएको भन्ने शब्द रेकर्डबाट मेटाइयोस्,” उनले भने।

यता, पाण्डे लगायतका माओवादी केन्द्रका सांसद उठेसँगै विपक्षी दल एमाले, रास्वपा लगायतका सांसद पनि कुर्चीबाट उठेर उभिइसकेका थिए। उनीहरूको तर्क थियो– सांसद खनाल बोल्दाबोल्दै सत्तारूढ दलका सांसदले बोल्न नदिएर नियम मिचे। त्यसपछि सभामुख घिमिरेले एमाले सांसद सूर्यबहादुर थापालाई बोल्न समय दिए। थापाले सत्तारुढ दलका सांसदले दादागिरी देखाएर प्रतिपक्षका सांसदलाई बोल्न नदिएको र प्रतिनिधिसभा नियमावलीको नियम मिचेको बताए। “यो दादागिरी स्वीकार्य हुन्न। यो कुनै हालतमा स्वीकार्य हुन्न,” उनले भने।

त्यसपछि सभामुखले प्रश्न सोध्ने सांसदलाई मर्यादामा रहेर प्रश्न गर्न र एक जना सदस्य बोल्दै गर्दा अर्को सदस्यले प्रतिवाद नगर्न अनुरोध गर्दै प्रतिनिधिसभा नियमावली नियम २०(झ) प्रति सांसदहरूको ध्यानाकर्षण गराए। पटक पटकको आग्रहपछि पनि सत्तापक्ष र प्रतिपक्षका सांसद नबसेपछि सभामुख घिमिरेले ‘प्रधानमन्त्री भैँसी चढेर आएको’ भन्ने शब्द संसद्को रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रुलिङ गरे। “भैँसी चढेर आएको भन्ने शब्द, यो रेकर्डबाट हटाउनका लागि म सचिवालयलाई निर्देशन दिन्छु,” उनले भने।

यसपछि प्रतिपक्षी दलको विरोधले चर्को रूप लियो। एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री स्वयंले संसद्को रोस्टमबाट भैँसी चढेको प्रसंग निकालेको भन्दै प्रधानमन्त्रीले बोलेको शब्द पनि रेकर्डबाट हटाउन माग गरे। रास्वपा सभापति तथा सांसद रवि लामिछानेले पनि प्रधानमन्त्रीले बोलेको शब्द पनि हटाउन माग गरे। र बैठक अवरोध जारी नै रह्यो।

त्यसपछि सभामुख घिमिरेले 'भैँसी चढेर आएको' भन्ने शब्द जसले बोलेको भए पनि रेकर्डबाट हटाउन निर्देशन गरेको बैठकलाई जानकारी गराए। तर पनि, सांसदहरूले बैठकमा अवरोध जारी राखेपछि सभामुखले प्रधानमन्त्री भारत भ्रमणबाट आउँदा भैँसी चढेर आएको भन्ने शब्द संसद् रेकर्डमा रहनु उपयुक्त नभएको पुनः ध्यानाकर्षण गराए। आफूले हटाउन रुलिङ गरिसकेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले बोलेको र सांसदले बोलेको कुरालाई एकै ठाउँमा गाँसेर हेर्न नमिल्ने बताए।

“भैँसी म पनि चढेको थिएँ, भैँसी चढाएका थिए भन्ने उहाँको कुराहरू आएको छ। यसलाई त्यसरी एकै ठाउँ गाँसेर नहेरीकन 'हाम्रो प्रधानमन्त्री भारतबाट भैँसी चढेर आएको' भन्ने रेकर्ड हाम्रो संसद्को इतिहासमा उचित हुन्न भनेर मैले रुलिङ गरेको कुरा अनुरोध गर्छु, माननीयज्यूहरू बसौँ,” उनले भने।

यससँगै सबै सांसदहरू आ–आफ्नो सिटमा बसेपछि प्रधानमन्त्रीलाई सांसदहरूले प्रश्न सोध्ने कार्यसूचीले निरन्तरता पायो। यसअघि बोल्दाबोल्दै रोकिन पुगेका रास्वपा सांसद खनालले आफ्नो प्रश्नलाई पूरा गरे। र प्रधानमन्त्रीलाई प्रश्न सोध्ने क्रम क्रमशः अगाडि बढ्यो। सवालजवाफका क्रममा सांसदहरू आक्रामकरूपमा प्रस्तुत भएपछि मर्यादापालकहरूले रोस्टम घेरेर बसेका थिए।

नागरिकता विधेयक संसद्मा ल्याउनुपर्छ : ओली
प्रधानमन्त्री दाहालले सांसदले सोधेका प्रश्नको जवाफ दिएपछि बोलेका प्रमुख प्रतिपक्षी दल एमालेको संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी विधेयक संसद्मा पुनः ल्याएर छलफल गर्नुपर्ने धारणा राखे। “यो विधेयकलाई जसो गरेर पनि फेरि पार्लियामेन्टमा ल्याउनुपर्छ। पार्लियामेन्टले छलफल गर्न पाउनुपर्छ। यो नयाँ पार्लियामेन्ट हो,” उनले भने। उनले प्रधानमन्त्रीको भारत भ्रमणले राष्ट्रिय स्वाभिमानमा धक्का पुगेको र सरकारमाथि सन्देह पैदा गरेको बताए।

प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा बंगलादेशसम्म पुग्ने पहुँचका लागि कालापानी, लिम्पियाधुरा, लिपुलेक सट्टापट्टा गर्न सकिने खालका अभिव्यक्ति दिएको उल्लेख गर्दै ओलीले समुद्रसम्मको पहुँच नेपालको अधिकारको विषय भएको बताए। “यसमा कुनै सट्टापट्टा हुन सक्दैन,” उनले भने।

‍बंगलादेश, भुटान, भारत र नेपाल गरी चार वटा देश सम्मिलित संगठनले ढुवानी र आवागमनका लागि यसअघि नै सहमति गरिसकेको स्मरण गराउँदै उनले बंगलादेशसम्म जानका लागि जमिन दिनुपर्छ भन्ने विषय अन्तर्राष्ट्रिय प्रचलनमा नरहेको, देशको संविधानभन्दा पनि परको विषय भएको बताए। उनले सीमा वारि आएर छिमेकी मित्रराष्ट्रले फौज राख्दा किन नबोल्ने भन्दै प्रधानमन्त्री दाहाललाई प्रश्नसमेत गरेका थिए।

उनले प्रधानमन्त्रीको भारत भ्रमण फितलो भएको, भ्रमणका क्रममा प्रधानमन्त्री नेपालको शिर ठाडो पार्ने गरी गौरवपूर्ण ढंगले प्रस्तुत हुन नसकेको आरोप लगाए। “प्रधानमन्त्रीज्यूले भारत गएर फितलो प्रदर्शन गर्नुभयो। नेपालको शिर ठडिने गरी गौरवपूर्ण ढंगले प्रधानमन्त्रीज्यू प्रस्तुत हुन सक्नुभएन। नेपालको मर्यादा रहेन, प्रोटोकल भएन, तरिकाहरू पनि मिलेन,” उनले भने।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले आफ्नो स्वकीय सचिवका रूपमा छोरीलाई छेउमा राखेको भए भनी परराष्ट्रमन्त्री, सचिव र चिफ अफ प्रोटोकल नजिक नहुनु गलत भएको ओलीको भनाइ थियो।