अर्थमन्त्री भन्छन्– कसैको फाइदा, बेफाइदाका लागि करका दर हेरफेर गरेको छैन

अर्थमन्त्री प्रकाशशरण महतले कसैलाई फाइदा र बेफाइदा पुग्ने हिसाबले करका दर परिवर्तन गर्ने काम नगरेको स्पष्ट पारेका छन्।

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले कसैलाई फाइदा र बेफाइदा पुग्ने गरी करका दर परिवर्तन नगरेको स्पष्ट पारेका छन्। सोमबार काठमाडौँमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको भन्ने समाचारको खण्डन गरेका हुन्। 

कसैले फाइदा लिइरहेको ठाउँमा फाइदा उठाउन नपाएर रिसाएर यस्तो प्रचार गरेको हुनसक्ने उनको टिप्पणी छ। उनले आफूले समग्र अर्थतन्त्रलाई केन्द्रबिन्दुमा राखेर तर कसैलाई फाइदा र बेफाइदा पुग्ने हिसाब कर परिवर्तन गर्ने काम नगरेको स्पष्ट पारे। उनले कसैले नियोजित रूपमा समाचारहरू लेखिरहेको हुनसक्ने बताए।

उनले समग्र अर्थतन्त्र र उद्योग व्यवसाय राम्रो बनाउने गरी इमानदार भएर काम गर्दा पनि हिलो छाप्ने काम भएको भन्दै असन्तुष्टि जनाए। “राम्रो काम गर्दा पनि आक्षेप आइलाग्ने हो भने नेपालमा इमानदार मान्छेको काम छैन भनेर घोषणा गरिदिए हुन्छ” उनले भने। 

उनले एकाध मानिसहरूको फाइदाका लागि अर्थमन्त्री र राज्य संयन्त्रले काम गर्न नमिल्ने बताए। उनले करका दर हेरफेर गर्दा अर्थसचिव, राजस्व सचिव, आन्तरिक राजश्व विभाग प्रमुख, भन्सार प्रमुख र उपसचिव मात्रै बसेर निर्माण गरेको दाबी गरे।