बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिनुपर्छ : प्रदीप यादव

जसपा प्रमुख सचेतक यादवले आफ्नो पार्टीले सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्नेसमेत बताएका छन्।

काठमाडौँ– सत्तारूढ जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई सरकारले संलग्न गराएको भन्ने विषयलाई आफ्नो पार्टीले गम्भीरतापूर्वक लिएको बताएका छन्।

मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक यादवले अर्थमन्त्री डा. प्रकाशशरण महतले यस विषयमा संसद्मा जवाफ दिनैपर्ने बताए। उनले अर्थमन्त्री महतले बजेटमाथिको छलफल सकिएपछि दिएको जवाफका आधारमा आफ्नो पार्टी अगाडि बढ्ने बताए।

प्रमुख सचेतक यादवले भने, “पर्सी अर्थमन्त्रीजीको जवाफ आइहाल्छ। सत्यतथ्य उहाँले बताएपछि हामी अघि बढ्छौँ। हामी सरकारले गरेको राम्रो कामलाई राम्रो भन्छौँ, नराम्रो कामलाई नराम्रो भन्छौँ।”

प्रमुख सचेतक यादवले आफ्नो पार्टीले सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्नेसमेत बताए।