अर्थमन्त्री भन्छन्– मन्त्रालयका कर्मचारीकै रूपमा रामकृष्ण श्रेष्ठलाई करका दर ‘टाइप’ गर्न दिइएको हो

अर्थमन्त्री डा. महतले करको दर हेरफेरबारे आफूसहितका आधिकारिक व्यक्तिहरूले निर्णय गरेर ‘इन्ट्री’ गर्दा श्रेष्ठलाई सहयोगीका रूपमा लिएको बताएका छन्।

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले इमानदार भएर काम गर्दा कठिन भएको गुनासो गरेका छन्। बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराइ करका दर हेरफेर गरेको भन्ने विषयमा मंगलबार जवाफ दिँदै उनले अर्थमन्त्री भएर जिम्मेवारी सम्हालेदेखि इमानदार भएर काम गरेको बताएका हुन्।

उनले आगामी आर्थिक वर्षको बजेट बनाउँदा प्रभावमुक्त भएर पारदर्शी ढंगबाट काम गरेको दाबी गरे। उनले अर्थ मन्त्रालयका कर्मचारीकै रूपमा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई करका दर ‘टाइप’ गर्न दिएको स्पष्ट पारे। अर्थमन्त्रीले श्रेष्ठले ३० वर्षदेखि यही काम गर्दै आएको उनको भनाइ थियो। श्रेष्ठको विज्ञताको कारण अघिल्लो अर्थमन्त्रीले मन्त्रालयमा उनलाई नियुक्त गरेको देखिएको उनको तर्क छ।

त्यस्तै, अर्थमन्त्री डा. महतले करको दर हेरफेरबारे आफूसहितका आधिकारिक व्यक्तिहरूले निर्णय गरेर ‘इन्ट्री’ गर्दा श्रेष्ठलाई सहयोगीका रूपमा लिएको बताए। उनले निर्णय गरिसकेपछि निर्णय प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा इन्ट्री गर्ने काम मात्र भएको प्रस्ट्याए।

उनले मेरो इमानदारीमा एक इन्च रौँ नहल्लेको स्पष्ट पारे। उनले आफूले  इमानदारी कायम राखेकाले स्वार्थ समूहहरू, निजी स्वार्थ भएकाहरू पछि लागेको बता जिकिर गरे। उनले जिम्मेवारीमा बसेकाहरू सबै असत्य, झूटा र असत्य काम गर्न बसेको भन्ने कुरा हुन नसक्ने बताए। उनले जिम्मेवारी लिएर कसम खाएर संसद्को रोस्टममा उभिएर जवाफ दिएको भन्दै आफ्नो इमानदारीमाथि शंका नगर्न पनि आग्रह गरे।