सरकारले देशको अर्थतन्त्रको नेतृत्व गर्ने सामर्थ्य गुमाइसकेको छ: ओली

एमाले अध्यक्ष ओलीले उत्पादन, उत्पादकत्व बढाउने र रोजगारीको पनि बाटो नदेखाएकाले बजेटलाई सच्याउन उपयुक्त हुने तर्क गरे।

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामर्थ्य गुमाइसकेको टिप्पणी गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरिएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले मुलुकको अर्थतन्त्रको नेतृत्व वर्तमान सरकारले गर्न नसक्ने जिकिर गरेका हुन्। 

अध्यक्ष ओलीले सत्ता पक्षको बहुमतले बजेट पारित भए पनि त्यसले कुनै परिणाम नदिने दाबीसमेत गरे। सरकार यथास्थितिवाद र पश्चागमनको मार्गमा रहेको भन्दै उनले कुनै पनि काम गर्ने उत्साह र जाँगर नभएको दोहोर्‍याए। 

“सरकार यथार्थपरक होइन यथास्थितिवाद, अग्रगमन होइन, पश्चागमनको मार्गमा छ। नेपाललाई विकसित देशमा रूपान्तरण गर्न, नेपालीलाई सम्पन्न र उच्च जीवनस्तरमा पुर्‍याउन नसक्ने आफैँ स्वीकार गरेको बजेटले नेपाली अर्थतन्त्रको सामर्थ्यको अवमूल्यन गरेको छ,” उनले भने।

ओलीले बजेट सच्याउन सरकारसँग माग गए। बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरूले नभन्ने अध्यक्ष ओलीको भनाइ थियो। 

“सरकार देश र जनताका लागि बजेट सच्याउन तयार होस्। हामी साथ दिन्छौँ। तर सत्ता अहंकारले बजेटमा कमा, फुलिस्टप फेरिँदैन, हामी जो बाहुबली छौँ। टेर्दैनौँ भन्नु हुन्छ भने परिणामले तपाईंहरूको सत्ताको अहंकार झारिदिनेछ,” उनले भने। 

ओलीले उत्पादन, उत्पादकत्व बढाउने र रोजगारीको पनि बाटो नदेखाएकाले बजेटलाई सच्याउन उपयुक्त हुने तर्क गरे। उनको राजस्व अपचलन हुने गरी बजेट आएको दाबी थियो।