देशैभर फैलियो लम्पी स्किनको प्रकोप, रोकथामका लागि बजेट अभाव

नेपालमा हालसम्म करिब पाँच लाख पशु लम्पी स्किन रोगबाट संक्रमित भएको पशु सेवा विभागले जनाएको छ। तराइदेखि हिमाली जिल्लासम्म नै यसको प्रकोप फैलिएको छ।

फाइल तस्वीर।

ललितपुर– गर्मीयाम शुरू भएलगत्तै देशैभर लम्पी स्किन रोगको प्रकोप फैलिएको छ। लामखुट्टे, भुसुना, किर्ना र टोक्ने  झिंगाको टोकाइबाट सर्ने यो रोग न्यूनीकरण हुनुको साटो देशभर तीव्र रूपमा फैलिँदै गएको छ।

हिमाली जिल्लाबाटसमेत लम्पी स्किन रोगका कारण पशु संक्रमित भएको सूचना आउन थालेको पशु सेवा विकास केन्द्रका सूचना अधिकारी डा. चन्द्र ढकालले बताए। नेपालमा हालसम्म करिब पाँच लाख पशु लम्पी स्किन रोगबाट संक्रमित भएको र करिब छ हजार पशु मरेको ढकालले जानकारी दिए।

पर्याप्त बजेट र जनशक्ति अभावका कारण यसको न्यूनीकरणका लागि सकस परेको उनको भनाइ छ। देशभरि महामारीका रूपमा फैलिए लगत्तै रोकथामका लागि पशु सेवा विभागले नै केही निजी मेडिकललाई खोप वितरण गर्न अनुमति दिएको छ। खोप आइसकेकाले संक्रमित पशुलाई खोप लगाउने अभियान थालिने उनको भनाइ छ।  

अफ्रिका, मध्यपूर्व र टर्कीमा देखिने गरेको लम्पी स्किन रोग सन् १९८९ मा इजरायलमा देखिएको थियो। सन् २०१९ पछि दक्षिण एसियाको बंगलादेश, भारत र चीनलगायत देशमा देखा परिसकेको छ। नेपालमा पहिलो पटक २०७७ असार १० गते मोरङमा लम्पी स्किन रोगको लक्षण देखा परेको थियो।

“गाईमा लक्षण देखा परेपश्चात् उक्त गाईबाट नमूना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा मलिकुलर विधिबाट परीक्षण गर्दा २०७७ साउन १२ गते लम्पी स्किन रोग पुष्टि भएको प्रयोगशाला प्रतिवेदन प्राप्त भएको थियो।” विशेषगरी संक्रमित लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता किराको टोकाइबाट लम्की स्किन रोग गाई भैँसीमा सरे पनि मान्छेलाई भने यो रोग सर्दैन। उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घट्नेलगायतका लक्षण देखा पर्छन्। 

पहिले घाँटीमा साह्रो गोलो गिर्खा देखिएता पनि शरीरका अन्य भागमा विस्तारै गिर्खा देखिँदै जान्छन्। सूचना अधिकारी ढकालले भने, “यो रोग सरेपछि पशुको थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिन्छ। आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउँछ भने केही संक्रमित गाई भैँसीले कुनै पनि लक्षण नदेखाउन सक्छन्।”

यो रोगको खासै उपचार नभएकाले रोग लाग्नुभन्दा अगाडि गाई भैँसीलाई खोप लगाउने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्न सरसफाइमा ध्यान दिने, गोठ वरिपरि पानी जम्न नदिने गर्नुपर्छ।

त्यसैगरी लम्पी स्किन रोग देखा परेका गाई भैँसीलाई ज्वरो घटाउनका लागि पारासिटामेल प्रयोग गर्ने, घाउ चिलाउन कम गर्ने औषधि प्रयोग गर्ने, फुटेको तथा आलो घाउ सफा गरी एन्टिसेप्टिक मलम प्रयोग गर्ने, संक्रमित पशुलाई खोप नदिने पशु सेवा विभागका पशु चिकित्सक वर्षा थापामगरको सल्लाह छ।

“रोग लागेको थाह पाउने बित्तिकै अलग राख्ने, ज्वरो आएको पशुलाई जोत्ने गाडा तान्ने काममा नलगाउने, गोठमा झिँगा, लामखुट्टे र किर्ना लाग्न नदिन वरिपरि धुवाँ लगाउनुपर्छ।”