संसद्को शून्य समय: नागरिकता विधेयकदेखि सुकुमबासी समस्यासम्म

सांसद अनिसा नेपालीले जातीय छुवाछुत दण्डनीय भए पनि यो अन्त्य हुन नसकेको बताइन्। छुवाछुतविरुद्धको कानूनलाई बलियो बनाउन उनको माग छ। 

काठमाडौँ– प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा नागरिकता विधेयक, सडकलगायत पूर्वाधार निर्माणमा भएको ढिलासुस्ती, मल तथा बिउबिजनमा देखिएको अभावदेखि सुकुमबासी र भूमिहीनका विषय उठान भएका छन्।

सांसद अच्युतप्रसाद मैनालीले तराईका विभिन्न जिल्लामा रहेका स्वास्थ्य संस्थामा भएका उपकरण कामविहीन अवस्थामा रहेको र नारायणी क्षेत्रीय अस्पतालको एमआरआई मेसिन नचलेको बताए। गर्मी बढ्दा मधेशमा जनजीवन प्रभावित भएको उनको भनाइ थियो। 

सांसद अनिसा नेपालीले जातीय छुवाछुत दण्डनीय भए पनि यो विभेद् अन्त्य हुन नसकेको बताइन्। छुवाछुतविरुद्धको कानून बलियो हुन नसकेकाले संसद्ले यो विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको माग छ। 

सांसद अमरबहादुर थापाले दैलेखमा पेट्रोलियम अन्वेषणका लागि चिनियाँ टोलीले काम गरिरहेको भए पनि त्यहाँ जानका लागि सडक पहुँच नरहेको र जग्गा अधिग्रहणको काम नसकिएको विषय उठाए। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा खानी उत्खनन गर्ने विषय राखेको भए पनि त्यसलाई कार्यान्वयनका लागि पूर्वाधार निर्माणमा ध्यान पुर्‍याउन नसकेको उनको भनाइ छ।     

सांसद अम्मरबहादुर रायमाझीले पशु चौपायामा देखिएको ‘लम्पी स्किन’ रोगका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराए। 

सांसद अमरेशकुमार सिंहले सवारी दुर्घटना बढ्न थालेकाले सडक सुरक्षामा ध्यान सुझाए। सडक सुरक्षाको मापदण्ड पूरा नभएको विषयलाई गम्भीर रूपमा लिइनुपर्ने उनको भनाइ छ। सांसद एकनाथ ढकालले पनि सडकमा खाल्डाखुल्डी बढेको र सरकार तथा मातहतका निकायको कमजोरीका कारण सडक दुर्घटना बढेको धारणा राखे। 

सांसद अमृतादेवी अग्रहरीले वर्षेबाली लगाउने बेलामा किसानले मलखाद र बिउबिजन पाउन नसकेको बताइन्। तराईका जिल्लामा भारतसँगको सीमा नाकाबाट मल तथा बिउबिजन चोरी निकासी हुने गरेको र सरकारका सम्बन्धित निकायले यो विषयलाई ध्यान पुर्‍याउन नसकेको उनको भनाइ छ। 

सांसद अर्जुननरसिंह केसीले सहकारी संस्थाका बचतकर्ताको अर्ब रुपैयाँभन्दा बढी रकम डुब्ने अवस्थामा रहेकाले सरकारले गठन गरेको अध्ययन समितिको प्रभावकारिताबारे प्रश्न गरे। सांसद अस्माकुमारी चौधरीले भूमिहीन र सुकुमबासीको समस्या देशभर रहेकाले यो समस्या समाधानका लागि शक्तिशाली आयोग बनाएर जानुपर्ने माग राखिन्। 

सांसद अशोककुमार चौधरी सुनसरी रामधुनी– ९ मा निर्माणाधीन पुल अलपत्र परेको विषय उठाए। 

सांसद असिम शाहले साझा यातायातले बिजुली बस सञ्चालनमा ल्याउन नसकेको बताए। साझा यातायातले ३७ वटा बिजुली बस किनेकामा जम्मा तीन वटा मात्रै सञ्चालनमा ल्याएको र ३४ वटा अझै सञ्चालनमा आउन नसकेको उनको भनाइ छ। 

सांसद ईश्वरबहादुर रिजालले दोलखा, सिन्धुपाल्चोक र रामेछाममा गौरीशंकर संरक्षण क्षेत्रका कारण स्थानीयले बारीमा उम्रेका रुखबिरुवा समेत काट्न नपाउँदा त्यसले धेरै किसानका बारी जंगलमा परिणत भएको बताए। 

सांसद ईश्वरी घर्तीले सगरमाथा आरोही हरि बुढामगरलाई सरकारले बर्सेनी कुनै सेवा सुविधा उपलब्ध गराउने गरी सम्मानित गर्नुपर्ने र माध्यमिक तहको पाठ्यक्रममा उहाँको जीवनी समावेश गरिनुपर्ने माग राखिन्। सांसद जुलीकुमारी महतो सगरमाथा आरोहणका क्रममा डोरी चुँडिएर बेपत्ता भएका रञ्जित शाहको खोजीका लागि आग्रह गरिन्। 

सांसद उमरावती देवीले नागरिकताविहीन नागरिकको विषय उठाइन्। सांसद जाबेदा खातुन जागाले नागरिकता विधेयक पारित गरिनु सकारात्मक रहेको उल्लेख गर्दै नागरिकताबाट वञ्चित व्यक्तिले त्यसको स्वागत गरेको बताइन्। 

सांसद गणेश पराजुलीले निर्वाचन आयोग जस्तो संवैधानिक निकायका जिल्ला कार्यालय खारेज गरिनु अनुपयुक्त रहेको बताए। 

सांसद गीता बस्नेतले बर्दियाको ठाकुरद्वार आरक्षण क्षेत्रका किसानले लालपुर्जा हुँदा पनि जमिनबाट लाभ लिन नसकेको उल्लेख गर्दै किसान बिमा योजना लागू गरिनुपर्ने धारणा राखिन्। 

सांसद गोकुलप्रसाद बाँस्कोटाले पाँचखालमा तरकारी बालीमा कीरा लागेकाले कीटनाशक औषधिको सहज उपलब्धताका लागि माग गरे। सांसद गंगाप्रसाद यादव सिरहा जिल्लाका चुरे क्षेत्रका जनताले आधारभूत सुविधाबाट वञ्चित हुनुपरेको विषय उठाए। 

सांसद चन्दा कार्की भण्डारीले असहाय र अपांगता भएका व्यक्तिलाई राज्यबाट पाउनुपर्ने सुविधाको प्रत्याभूति गरिनुपर्ने बताइन्। सांसद चन्द्रबहादुर विश्वकर्माले रुकुम पश्चिम चौरजहारीमा हवाई सेवा पछिल्लो तीन वर्षदेखि बन्द रहेकामा त्यहाँ हवाई सेवा शुरू गर्न माग गरे। 

सांसद चित्रबहादुर केसीले मध्यपहाडी राजमार्गमा काम नगर्ने ठेकादारसँगको ठेक्का खारेज गरी अर्को ठेक्का लगाउन माग गरे। सांसद ज्वालाकुमारी शाहले कलैया क्षेत्रको सडक निर्माणको विषय संसद्‌मा उठाइन्।