शेयर लगानीकर्ताको सुरक्षाका लागि सरकारको पूर्ण सहयोग रहन्छ: अर्थमन्त्री

पुँजी बजारमा केही फाइदा हुन्छ भन्ने आशामा गाँस काटेर लगानी गर्नेको सुरक्षा गर्नु बोर्डको ठूलो जिम्मेवारी रहेको मन्त्री महतको भनाइ छ।

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्।

धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री महतले पुँजी बजारका ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु बोर्डको दायित्व भएको उल्लेख गरे।

“शेयर बजारमा लगानी र आयआर्जनका दृष्टिले ठूलो आकर्षण छ। त्यसैले पनि बोर्डको जिम्मेवारी र दायित्व बढेको छ,” उनले भने, “यसमा सरकारको पूर्ण सहयोग रहन्छ।” धितोपत्र बोर्डले नियमनको काम प्रभावकारी रूपमा गर्नुपर्ने भन्दै उनले शेयर बजारलाई अझै स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि पूर्ण सहयोग गर्ने बताए।

शेयर बजारबाट निश्चित व्यक्तिले फाइदा लिने माध्यम बोर्ड बन्न नहुने भन्दै मन्त्री महतले पुँजी बजारमा केही फाइदा हुन्छ भन्ने आशामा गाँस काटेर लगानी गर्नेको सुरक्षा गर्नु बोर्डको ठूलो जिम्मेवारी भएको बताए।

“शेयर बजारलाई प्रतिस्पर्धात्मक बनाउन ‘अटोमेटेट सिस्टम’मा लैजानुपर्छ,” उनले भने,  “हरेक क्रियाकलापलाई कागजरहित बनाउने र कसैले अनपेक्षित फाइदा लिन नपाउने सुनिश्चितता गर्नेलगायत कुरामा बोर्डले उच्च सतर्कता अपनाउनुपर्छ।”

शेयर बजारलाई स्वस्थ बनाउन नेपाल राष्ट्र बैंकले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ छ।