मार्सी चामलको माग देशभर बढिरहेको कृषि ज्ञान केन्द्र जुम्लाले जनाएको छ। त्यसैले पछिल्लो समय कृषकहरू पनि यसको खेतीप्रति आकर्षित हुन थालेका छन्।
जुम्ला– यहाँका किसानलाई मार्सी धान रोपाइँको चटारो छ। किसानहरू बिहानदेखि रातिसम्म खेतमा व्यस्त हुन थालेका छन्।
जेठ पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको गुठिचौर गाउँपालिकाका राज्यलक्ष्मी देवकोटाले जानकारी दिए। पछिल्लो समय मार्सी धानको चामलले बजार पाउन थालेपछि किसान यो धानप्रति आकर्षित हुन थालेका छन्।
जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि यसको खेती बर्सेनि बढेको कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख गणेश अधिकारीले बताए। जिल्लाका सात गाउँपालिका, एक नगरपालिकाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्रयाङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली र रातो मार्सी धाने रोपाइँ धमाधम भइरहेको छ।
जुम्लामा दुई हजार ८५० हेक्टरमा धानखेती हुन्छ। सोमध्ये एक हजार २०० हेक्टरमा मार्सी धानको खेती हुने गरेको प्रमुख अधिकारीको भनाइ छ। गतवर्षको असोजमा आएको बाढी पहिरोका कारण सिञ्जा गाउँपालिकाका ४२ वटा कुलोमा क्षति पुगेको थियो।
गाउँपालिकाको लगानी र स्थानीयको श्रमदानमा २८ वटा कुलो पुनः निर्माण भई सञ्चालनमा आएपछि सिञ्जाका अधिकांश क्षेत्रमा धान रोपाइँ भइरहेको सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिए।
शेरा खेतमा रोपाइँ सम्पन्न
जिल्लाको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको शेरा खेतमा कालीमार्सी धान रोपाइँ सम्पन्न भएको छ। परम्परागत रूपमा रोपिँदै आएको मार्सी धान उक्त शेरा खेतमा बुधबार रोपिएको हो।
चन्दनाथ बाबाले भारतको काश्मीरबाट ल्याएर खेती शुरू गरेको मार्सी धानलाई मन्दिरको शेरा खेतमा रोपाइँ गरेको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले बताए।
हरेक वर्ष जेठ १४ गते रोपाइँ हुँदै आएकामा यस वर्ष बीउ अभावले रोपाइँ ढिलो भएको हो। गुठी व्यवस्थापन समितिका अध्यक्ष थापाले भने, “चन्दननाथ बाबाको शेरा जिउँलो परापूर्वकालदेखि नै मन्दिरमा अक्षता चढाउनका लागि मार्सी धान रोप्ने गरिन्छ।” जिउलोमा रोप्दै गर्दा मागल गाउने, पञ्चेबाजा बजाउने गरेको अध्यक्ष थापाको भनाइ छ।
जुम्लाको धार्मिक इतिहाससँग जोडिएको शेरा जिउलोमा मार्सी धान रोपाइँ गर्दा अहिले बिस्तारै मागल गाउने, पञ्चेबाजा बजाउने क्रियाकलाप हराउन थालेको यहाँका स्थानीयले गुनासो गर्न थालेका छन्। तातोपानी गाउँपालिकाको लिताकोट, लाम्रा, हाँकु र चन्दनाथ नगरपालिका–८ र ९ बाट बीउ ल्याएर रोपाइँ गरिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ।
मन्दिरको शेरा खेतमा रोपाइँका लागि स्थानीय, चन्दननाथ माध्यमिक विद्यालयका विद्यार्थीलगायत नागरिक अगुवाको उपस्थिति थियो। समुद्री सतहदेखि दुई हजार ८५० मिटर उचाइ रहेको छुमचौर जिउलोमा उत्पादन हुने मार्सी धान खेतीलाई संरक्षण गर्नेका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्ने गाउँपालिका अध्यक्ष पुन्नसिंह बोहराको भनाइ छ।
मार्सी धान संरक्षण गर्नेका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजन गरिने गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जनकारी दिइन्। संघीय सरकारले आगामी आवको बजेटमा जुम्ली मार्सी धानको ब्रान्डिङ गर्ने उल्लेख गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
