संसद्मा माफी माग्दै रविले भने– भैँसी, राँगाको गफले ५ वर्ष बिताए गोबरबाहेक केही पाउँदैनौँ

प्रतिनिधिसभा बैठकमा राँगा र भैँसीको विषयमा गफ गरेर पाँच वर्ष बिताएमा गोबरबाहेक केही पनि नपाउने टिप्पणी गरेका रास्वपा सभापति लामिछानेले यस विषयमा भएको बहसप्रति आफूले आत्मालोचना गरेको बताएका छन्।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा आफ्नो पार्टीका सांसदहरूको केही दिनयताको बहस अमर्यादित भएको भन्दै माफी मागेका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले विगत केही दिनयता प्रतिनिधिसभामा भएको छलफलबाट आफू लज्जित भएको बताएका हुन्।

भारत भ्रमण र नागरिकता विधेयकबारे प्रधानमन्त्रीलाई प्रश्न सोध्ने क्रममा रास्वपा सांसद शिशिर खनालले ‘प्रधानमन्त्री दाहाल भारतबाट भैँसी चढेर आएको’ अभिव्यक्ति दिएपछि सदनमा सत्तापक्ष र विपक्षी दलबीच नोकझोक भएको थियो।

उनले 'आफूहरूले प्रधानमन्त्री विमान चढेर पोखरा विमानस्थल झर्नुहुन्छ होला भनेर अपेक्षा गरे पनि दुर्भाग्यवश भैँसी चढेर आउनु परेको कुरा आए' भन्ने अभिव्यक्ति दिएपछि माओवादी सांसदहरूले आपत्ति जनाएका थिए। पछि सभामुख देवराज घिमिरेले उक्त शब्द ‘रेकर्ड’बाट हटाउन निर्देशन दिएका थिए। 

लामिछानेले बिहीबारको प्रतिनिधिसभा बैठकमा राँगा र भैँसीको विषयमा गफ गरेर पाँच वर्ष बिताएमा गोबरबाहेक केही पनि नपाउने टिप्पणी गर्दै यस विषयमा भएको बहसप्रति आफूले आत्मालोचना गरेको बताए

“हामीले आज बजेटमा कुराकानी गरिरहँदा, राष्ट्रका महत्त्वपूर्ण मुद्दामा कुराकानी गरिरहँदा आम सर्वसाधारणमा संसद्बाट राम्रो सन्देश गएको छैन। म आफ्नो भागमा परेको आरोप, आफ्नो भागमा परेको जुन दुःख छ, आफू जिम्मेवार हुन चाहन्छु र आफ्नो राजनीतिक दलका तर्फबाट गत केही दिनमा भएका बहसहरू अलिकति अमर्यादित भएकोमा क्षमा याचना गर्न चाहन्छु,” उनले भने।

लामिछानेले हचुवाको भरमा बजेट निर्माण भएको टिप्पणी गरे। उनले बजेट राजस्वमा आधारित भएको भन्दै कार्यान्वयनमा आशंका गरे। उनले गोरखा, नुवाकोट र डडेलधुरामा मात्रै विकास बजेट गएको समाचारहरू बाहिरिएको भन्दै यस सम्बन्धमा अर्थमन्त्रीको जवाफको माग गरे। उनले बजेटमा विदेशमा भएका नेपालीलाई मताधिकार दिने विषय नपरेकोमा असन्तुष्टि व्यक्त गरे।

लामिछानेले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गरे। त्यसैगरी, उनले आगामी दिनमा बजेट बन्नुभन्दा ५ महिनाअगाडि नै शिक्षा र स्वास्थ्यनीति कस्तो बनाउने भन्ने सम्बन्धमा बृहत् छलफल गरेर साझा अवधारणा बनाउनुपर्नेमा जोड दिए।

त्यस्तै, आफूहरू जन्मसिद्ध नागरिकहरूले नागरिकता पाउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै नागरिकता विधेयक संसद्मा छलफल हुनुपर्ने र आफूहरू छलफलमा भाग लिन पाउनुपर्ने पक्षमा रहेको उनले बताए।