उद्योग व्यवसायलाई संकटबाट जोगाउन घरजग्गा कारोबार सुचारु गरेका छौँ: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले अर्थतन्त्र चलायमान बनाउन र उद्योग व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारु गरिएको बताएका छन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र चलायमान बनाउन र उद्योग व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारु गरिएको बताएका छन्। 

बिहीबार बुटवल–पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, “अर्थतन्त्र चलायमान बनाउन, उद्योग व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारु गरिएको छ। यसले अर्थतन्त्रमा ठूलो मद्दत पुग्नेछ,” उनले भने।

त्यस्तै, उनले देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्तिको आवश्यकता औँल्याए। महामारीको मारमा परेका व्यवसायीलाई राहत दिनेगरी तथा शिथिल बन्न पुगेको देशको अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी निजी क्षेत्रका सुझावलाई सरकारले आगामी वर्षको बजेटमा समेटेको बताए। 

उनले वर्तमान सरकार निजी क्षेत्रको साथमा रहेको सुनाए। उनले पर्यटन क्षेत्रको बहुआयामिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन, होटल तथा पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवं पर्यटनको बसाइ लम्ब्याउन आवश्यक प्रबन्ध मिलाउने सरकारको लक्ष्य रहेको बताए।

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणपछि नेपालमा हाइड्रोपावरको क्षेत्रमा ठूलो लगानीको बाटो खुलेको जिकिर गरे। आफू प्रधानमन्त्री भएपछि अर्थतन्त्र सुदृढ बन्दै आएको उनको दाबी थियो।  

सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीमैत्री वातावरण सिर्जना गर्न आग्रह गरेका छन्। उनले नेपालमा लगानी गर्न प्रकृतिले नै अथाह सम्भावना दिए पनि सरकारको नीतिका कारण लगानी गर्न कठिन भइरहेको बताए। 

उनले साना कुरामा पनि झन्झट बेहोर्नुपरेको, मन्त्रिपरिषद्बाट पारित भइसकेका निर्णय कार्यान्वयन हुन नसक्दा निजी क्षेत्रले समस्या भोगिरहेको गुनासो गरे। “साना कुरामा पनि क्याबिनेटबाट निर्णय भइसकेका कुरामा पनि कार्यान्वयन हुन सकेको छैन। यस्तो भएपछि लगानीकर्तामा निराश उत्पन्न हुन्छ। यो समग्र निजी क्षेत्रको समस्या हो। लगानीमैत्री वातावरणका लागि पहल गर्नुपर्छ,” उनले भने।