नेपाल 'राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्' सदस्यमा निर्वाचित

राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भएको मतदानमा नेपाल १४५ मतसहित विजयी भएको छ। एशिया प्रशान्त क्षेत्रबाट जापान र पाकिस्तान पनि निर्वाचित भएका छन्।

काठमाडौँ– नेपाल 'संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्' (ईकोसोक) सदस्यमा निर्वाचित भएको छ।

नेपाल सन् २०२४ देखि २०२६ सम्मका लागि सदस्यमा निर्वाचित भएको हो। बिहीबार राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भएको मतदानमा नेपाल १४५ मतसहित एशिया प्रशान्त क्षेत्रका देशको समूहमा सर्वाधिक मतका साथ विजयी भएको हो।

राष्ट्रसंघको वडापत्र १९४५ अनुसार छ मुख्य परिषद्‌मा आर्थिक तथा सामाजिक परिषद् एक हो, यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उँचो बनाएको राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख अमृतबहादुर राईले बताए।

“नेपालले मानवअधिकार परिषद्‌मा सन् २०१८ मा निर्वाचित भएर एउटा सन्देश दिएको थियो भने अहिले आर्थिक, सामाजिक परिषद्‌मा विजयी भएर महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। राष्ट्रसंघको परिषद्‌मा निर्वाचित भएर विश्व मञ्चमा आफ्नो सन्देश दिन सफल भएको छ,” राईले भने।

सदस्यका रूपमा जिम्मेवारी लिएपछि नेपालले विश्व सहश्राब्दी लक्ष्य २०३० र अति कम विकसित राष्ट्रका लागि दोहा कार्ययोजना कार्यान्वयनमा समन्वयकारी र महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने  उनले बताए। गोप्य मतदानमार्फत भएको उक्त निर्वाचनमा एशिया प्रशान्त क्षेत्रबाट जापान र पाकिस्तान पनि निर्वाचित भएका छन्।

बिहीबारको मतदानमा ११८ देश सदस्यमा निर्वाचित भएका छन्। यसरी निर्वाचित हुने देशमा फ्रान्स, जर्मनी, स्पेन, बेलायत, पोल्यान्डलगायत छन्।  तीनवर्षे कार्यकालका लागि २०२४ जनवरीबाट यी नयाँ सदस्य राष्ट्रले काम गर्नेछन्।

“नेपाल सन् २०२६ देखि मध्यमस्तरको विकासशील राष्ट्रका रूपमा स्तरोन्नति हुनका लागि रणनीतिक रूपमा अगाडि बढिरहेको परिप्रेक्ष्यमा आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित हुनु महत्त्वपूर्ण उपलब्धि हो,” राईले भने।

यस परिषद्ले विश्वभरिका नागरिकको आर्थिक, सामाजिक अवस्थाका बारेमा सुधार गर्दै सहश्राब्दी विकास लक्ष्य हासिलका लागि विभिन्न कार्यक्रमसमेत अगाडि सारेको छ।