भैँसीको नश्ल सुधार किसानको जीवनस्तर उकास्ने आधार बन्न सक्थ्यो। तर ‘भैँसीराँगा’ शब्द उच्चारण गर्दा प्रमको अनुहारमा देखिएको हीनभावले किसानको शिर निहुरेको छ।
गत सोमबार २२ गते, संसद्मा उठेका प्रश्नको जवाफ दिन रोस्टममा उभिएका प्रधानमन्त्री (प्रम) पुष्पकमल दाहाल ‘प्रचण्ड’को मुहार अचानक हीनताबोधले झुक्यो। त्यतिखेर, मुक्तिराम र भवानीपुत्र प्रम दाहालले कास्की ढिकुर पोखरी हाल चितवन शिवनगर निवासी हुँ भन्ने भुइँ भुसुक्कै बिर्से।
उनको मुहारमा गल्ती र भूलका विम्ब कोरिनुको एउटै कारण थियो, उनको मुखबाट उच्चारण भएको ‘भैँसी’ शब्द। घरपरिवारमा दिनरात भैँसीकै स्याहार, सुसार, घाँसपात, भकारो र उसैले दिएको दूध पिएको बिर्सेको त्यो क्षणको प्रायश्चित उनले गर्लान् कि नगर्लान्?
भारतबाट फर्किएलगत्तै संसद्लाई भ्रमणबारे जानकारी गराउन प्रम दाहाल रोस्टममा उभिएर सांसदहरूले उठाएका प्रश्नसँगै भैँसीको प्रसंगबारे जवाफ दिँदा उनको अनुहार हीनता र लज्जाबोधले मलिन देखिन्थ्यो।
‘भैँसी’ लाज बन्यो। भैँसी शब्द बोल्दा जसरी उनले लघुताभास महसुस गरे, लाग्छ किसान उनलाई देखेर झनै लजाए। भने होलान्, ‘हे प्रचण्ड आज तिमीलाई भैँसी भन्न लाज लाग्यो है!’
प्रमले भैँसीको प्रसंगबाट पन्छिन ‘अर्कैको पालाको सम्झौता हो, मैले हैन’समेत भन्न भ्याए। थप स्पष्ट पार्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई विज्ञप्ति जारी गर्नसमेत लगाए।
सातसात वर्षसम्म थाँती रहेको सम्झौता कार्यान्वयनमा ल्याएँ, ढिला गर्ने को हो त्यसलाई कारबाही गर्छु भन्ने हिम्मत र आँट गर्ने प्रम नेपाली किसानले देख्न चाहेका थिए। झन्डै दशकअघि मागेको मुर्रा राँगा (पाडा) प्रम दाहाल जाँदा भारत सरकारले पठाएका नै त हो।
इतिहास हेर्दा, राणाकालका प्रधानमन्त्रीले त बेलायतदेखि उन्नत नश्लका पशु किनेर ल्याएको तथ्य भेटिन्छ। राणा प्रधानमन्त्री जंगबहादुर जब पहिलो पटक बेलायत पुगे, केही दिनपछि गाईगोठ चाहर्न थाले। उनैका छोरा पद्मजंगले लेखेको ‘जङ्गबहादुरको बेलायत यात्रा’ पुस्तकमा उल्लेख छ, “सन् १८५० जनवरी १५ को दिन प्रधानमन्त्री जङ्गबहादुरको भ्रमण दल काठमाडौँदेखि बेलायत प्रस्थान गर्यो। मे २५ मा साउथह्याम्पटन बन्दरगाहमा उत्रिए। जुन ७ को मध्याह्नमा एक दुग्धशाला हेर्न गए। त्यहाँ गाई बिक्री हुन्थ्यो। त्यहाँ आफूले भनेजस्तो गाई नपाएपछि अर्को त्यस्तै ठाउँमा गाई हेर्न गए। त्यहाँ उनले आधा दर्जन सफोल्क नश्लका, दुइटा होर्डरनेस, चार वटा योर्कसागर गाईका साथै दुइटा अल्डरनी साँढे किने।”
राजादेखि रंकसम्म सबैले गाईभैँसी पाल्थे। नेपालको कुनै गाउँबस्ती छैन, जहाँ पशुपालन नगरिएको होस्। ‘गाई’ मात्र भन्दा अपुरो सुनिन्छ, त्यसैले ‘गाईभैँसी’ सँगै जोडेर बोलिन्छ। पशुपालन नेपाली संस्कृति हो। गाईभैँसी, बाख्रा र मकै–भटमास, गुन्द्रुक नेपाललाई बाँध्ने बलिया प्रतीक पो हुन्।
फेरि फर्कौं सदनतिरै। कृषि विषयमै स्नातक गरेका नाताले पनि भैँसी–राँगाका कुरा संसद्मा उठ्दा प्रम दाहालको छाती गर्वले चौडा हुनुपर्थ्यो। इज्जत र प्रतिष्ठाको विषय बन्नुपर्थ्यो। तर, स्वयं प्रम दाहाल नै मुर्रा राँगाको प्रसंगले तर्सिए। संसद्भित्र उपस्थित कुनचाहिँ सांसद थिए होलान्, गाईभैँसी गोठबिना हुर्किएका? प्रम दाहालले रोस्टमको टेबल ठोकेर भन्न सक्नुपर्थ्यो, ‘हामीलाई चाहिएको मुर्रा राँगा नै हो। महत्त्वपूर्ण काम गरेको छु।’
यतिखेर संसददेखि चिया गफ, भेटघाट, जमघट जहाँतहीँ मुर्रा राँगाका चर्चा छताछुल्ल छ। सामाजिक सञ्जालमा प्रम दाहाललाई अपमानित गर्दै, खिल्ली उडाउँदै भैँसीराँगाको ट्रोल बनाइको छ। पत्रपत्रिका, अनलाइन समाचारका आशय हेर्दा लाग्छ– भैँसी राँगा ल्याउनु तुच्छ काम हो, गर्नै नहुने काम प्रम दाहालले गरे।
शहरी भीडमा चलेको चर्चाले राँगाको सिङ, पुच्छर कतै छाम्न सकेजस्तो लाग्दैन। एक अन्तर्वार्तामा प्राडा. जगदीशचन्द्र रेग्मीले भनेका थिएँ, “वास्तवमा हाम्रो समाज निकै चिसो समाज हो। अहिलेका पत्रकार असाध्य नचाहिने कुरामा बाठा छन्। बुद्धिको प्रयोग कम गर्छन्। अध्ययन सतही छ, समाजप्रतिको बुझाइ गहिरो छैन। ऊर्जाविहीन शिथिल लेख छापिरहेका छन्।”
भैँसी किसानको नजरमा : प्रमको सम्बोधन, पेशा र अवस्था
प्रमको त्यो लज्जाबोध मुहार सम्झिएँ, निदाउन गाह्रो भयो। र मंगलबार बिहान ४ बजे उठेर वीरेन्द्र गिरीलाई भेट्न काभ्रेस्थित उनको घर बनेपा पुगेँ। त्यहाँ पुग्दा उनी भैँसीगोठमै भेटिए।

रौतहटका गिरी बनेपामा भैँसी व्यापार गर्छन्। ३३ वर्षदेखि तराईबाट दुधालु भैँसी ल्याएर काभ्रे जिल्लाका किसानलाई बेचिरहेका छन्। काभ्रेका प्रत्येकजस्तो घरघरकै जानकारी राख्ने उनले कसको भैँसीगोठ कहाँ छ भन्न सक्छन्। दूध बेचेर जीविकोपार्जन गर्ने हजारौँ किसानको नामसमेत उनलाई कण्ठस्थ छ। काभ्रे मात्र होइन, सिन्धुपाल्चोक र दोलखाको चरिकोटसम्मका किसानलाई उनले भैँसी बेचेका छन्।
तीन दशकभन्दा बढीको व्यावसायिक यात्रा गरेका गिरीले भैँसी पालेर त्यसबाट आएको आम्दानीले किसानको जीवनस्तर सतहदेखि माथि उठेका किसानको उदाहरण यकिनसाथ पेश गर्न सक्छन्।
उनले कुरै कुरामा घिमिरे थरका किसानको उदाहरण पेश गरे। जुरुक्क उठेर उनले जमिनको क्षेत्रफल हातको इशाराले कोरे, त्यस्तै चौडाइ १२ फिट, लम्बाई १५ फिटजति बुझिन्थ्यो। त्यो साहुको जग्गा थियो। चार वटा खाँबा गाडेर, प्लास्टिकले बारे, टिनले छाए।
सुत्ने खाट, भान्सासँगै दुइटा भैँसी, त्यसरी बसेका किसानको अवस्थामा आमूल परिवर्तन आएको उनी तर्क गर्छन्। “मकहाँबाट नै भैँसी लगेर, दूध बेचेर किसानको जीवन कहाँ पुगेको छ,” उनी भन्छन्, “ललितपुर गोटीखेल ठिङ्गनबाट आएका घिमिरेहरूले धुलीखेल २८ किलोस्थित भाडामा थोरै जमिन लिएर भैँसी पाल्न शुरू गरेका थिए। अहिले उनको ठूलो घर छ, जग्गा छ। बालबच्चा पढेर सबै बिदेसिए। अहिले पनि केही मात्र भैँसी पालेर बसेका छन्।”
पाँचखालका जोगलाल श्रेष्ठ हुन् मेलम्चीको विष्णु खड्का वा बनेपा, पनौतीका भुदेउमामा वैकुण्ठ सफल किसानका लामो सूची उनीसँग छ।
पनौती नगरपालिकाले अघिल्लो कार्यकालमा हजारभन्दा बढी भैँसीका पाडीमा ७५ प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको थियो। अहिले पाँचखाल नगरपालिकाले किसानलाई पाडी वितरण गरिरहेको छ। भैँसीपालनबारेका हरेक गतिविधिबारे जानकार छन् गिरी।

भैँसी पालनबाट देशलाई समृद्ध बनाउन सकिने तर्क गर्ने गिरीले वर्षको ४०० देखि ६०० सयसम्म दुहुनो भैँसी बेच्छन्। पनौती, जगाते, धापाखेल पाँचखाल, जडीबुटी आदि विभिन्न ठाउँबाट दुहुनो भैँसी बिक्री हुन्छ। उनका अनुसार अहिले गाउँगाउँमा बाटो पुगेको छ, दुहुनो भैँसी बेच्ने व्यापारीहरू कुनाकुनामा पुगेका छन्। चितवन, पोखरा नुवाकोटमा पनि भैँसीको व्यापार राम्रो छ।
“शुद्ध मुर्रा त एकाधबाहेक देशभर नै पाइँदैन। ४०/५० प्रतिशत ‘क्रस’को हो यहाँ पाइने। ती भैँसी १ लाख ७५ हजारदेखि २ लाखसम्म बिक्री हुन्छ, अरू गुजराती, लिमी र चुल्ठे १ लाखको हाराहारी मूल्यमा बिक्री हुन्छ,” उनले सुनाए।
भैँसीले उकासेका किसानको आर्थिक उन्नतिका कथा उनी खररै भन्न सक्छन्। “कृषिप्रधान देश भनेको छ, कुनै उद्योगधन्दा छैन, कलकारखाना छैन। केही पनि त छैन। कृषि नै त हो। पछिल्लो चरणमा मलेसिया र खाडी मुलुक हो। त्यहाँ जाने पनि सबै तिनै किसानकै छोराछोरी छन्। फर्केपछि गर्ने पेसा यही गाइभैँसी नै हो। गाउँघरमा बस्नेले अरू के गर्ने, पशुपालन नै हो,” उनको बुझाइ छ।

उनलाई लाग्छ, प्रम दाहाल भारत गएर भैँसीकै मात्रै कुराकानी गरेको भए, मुर्रा भैँसी ल्याउन सम्झौता गरेका भए, यहाँका ६० प्रतिशतभन्दा बढी किसानको परिवारमा खुशी छाउँथ्यो। देशको गरिबी हटाउन १५ होइन १५ हजार मुर्रा भैँसी ल्याइनुपर्छ भन्ने तर्क गर्दै उनले गाई र बाख्राको तुलनामा राम्रा नश्लका भैँसी नेपालमा नल्याइएको गुनासो गरे।
उनका अनुसार किसानहरू भैँसीपालनमा आकर्षित छन्। दिएसम्म दूध पिउँछन्, थाके मासुका लागि बेच्छन्। त्यसरी बेच्दा झन्डै ५० प्रतिशत लागत किसानले उठाउँछन्। भैँसीको दूधमा फ्याट धेरै हुन्छ। उन्नत नश्लका भैँसी नेपाललाई चाहिएको छ। तर गाईबाट त्यति फाइदा हुँदैन।“भैँसी पालेर जीवन गुजारा गर्ने सारा किसान, मुर्रा राँगाबारे संघीय संसद्मा चलेको खिसीट्युरी, शहरी समाजका तिरस्कृत टीकाटिप्प्णी र प्रमको अनुहारमा कोरिएका हीनताबोध आकृति देखेर उनीहरूको शिर निहुरिएकोको छ,” उनले निराशा व्यक्त गरे।
चोरी पैठारी गरेर कतिन्जेल ल्याउने? कानूनी रूपमा किनेर ल्याउन सकिने वातावरण किन नबनाउने? भारतबाट गुणस्तरीय नश्लका भैँसी ल्याउन नेपालले छलफल चलाउनुपर्ने उनको सुझाव छ।
उनको अनुभवमा, भन्सार शुल्क तिरेर भारतबाट भैँसी किनेर ल्याउने नीतिगत निर्णय गरिदिए मात्रै ठूलो उपलब्धि मान्न सकिन्छ। वीरेन्द्रले देशको अवस्था देखेर उखान सम्झिए, “हाम्रो मधेशतिर भन्छन् ‘भाग्य भरोसे हिन्दु होटल’ त्यस्तै अवस्था छ, मुलुकको। भैँसीलाई हाँसोमा उडाउने।”
दश मिनेटमा भैँसी लिलाम!
किसानसम्म दुहुनो भैँसी पुर्याउने क्रममा वीरेन्द्रले भोग्ने जोखिम, अपमान र चुनौतीपूर्ण यात्रा बयान गरेर साध्य छैन।
मेचीदेखि महाकालीसम्मको दक्षिणी सीमा बस्तीका बासिन्दाको बाँच्ने आधार कृषि नै हो। घरमा पशुपालन छुट्दैन। तर, ल्याइनुपर्छ भारतबाटै। सीमा पारिबाट वारि पशु ल्याउनु गैरकानूनी मानिन्छ। “पारिबाट पशु भित्र्याउन चोर बाटो समात्नुपर्छ। त्यसो भएपछि जन्मन्छन् तस्कर। तस्कर जन्मेपछि प्रहरी आउने भइहाले। त्यसपछि भन्सार, अनि बिचौलिया, त्यसपछि तिनका दलाल। अन्तिममा ती सबैको सेटिङ, मर्ने किसान,” गिरीको अनुभव छ।
वीरेन्द्र यी कुरा भन्दै गर्दा आक्रोशित देखिन्छन्। उनले भारतबाट ल्याउँदै गरेको भैँसी सेटिङमार्फत क्षण भरमै लिलामीमा पर्ने गरेको पनि अनुभव सुनाए।
डोर्यादै गरेको भैँसी प्रहरीले समात्छ, भन्सारले भैँसीको लिलाम गरिसकेको हुन्छ।भन्सारमा भैँसी नपुर्याउँदै लिलाम कसरी सम्भव हुन्छ त? उनी भन्छन्, “एक घण्टापछि भैँसी भन्सार पुर्याइन्छ, त्यसअघि नै भैँसी कौडीको भाउमा लिलाम भइसकेको हुन्छ। कसरी लिलाम भयो, सकार्ने को हो केही कुरा थाहा हुँदैन।”

पछिल्लो समय सीमा क्षेत्रका किसान र व्यापारी बिचौलियाको सेटिङको शिकार हुने गरेको उनी बताउँछन्। उनका अनुसार गाउँमा कतै भैँसी डोर्याएको देख्नासाथ भन्सारका एजेन्टले खबर पुर्याइहाल्छन्, क्षण भरमै प्रहरी भैँसी समात्न आइपुग्छन्। दुई/तीन किलोमिटर सीमावरैका किसानलाई एकआपसमा भैँसी किनबेचसमेत गर्न कठिनाइ छ।
“भैँसी गोठबाट निकालेर १० मिनेट पर पुर्याएको हुन्न, पुलिस आइपुग्छन्। कागज माग्छन्। आपसी मोलतोलमा किनिएको हुन्छ। के दिने प्रमाण? किनेको ठाउँमा जाऊँ भन्यो, जान मान्दैनन्। उता लिलाम भइसकेको हुन्छ,” उनी निराश हुँदै पीडा पोख्छन्।

यस्ता अत्याचारबाट सीमा क्षेत्रका किसान आजित छन्। आजसम्म त्यसको कहीँ सुनुवाइ हुन सकेको छैन। वीरेन्द्रकै शब्दमा ‘त्यसपछि पो शुरू हुन्छ पुलिसको ताण्डव नाच’। सबै झमेला बेहोरेर जब भैँसीलाई गाडीमा राख्न खोजिन्छ, ट्राफिक ठीक्क अगाडि चिट काटेर तेर्स्याउँछ, ‘प्रयोजन विपरीत’ शीर्षकको। “एक हजार तिर्नैपर्छ। नतिरे गाडीमा हाल्न पाइँदैन भन्छन्,” उनी प्रश्न गर्छन्, “गाडीमा नलगे केमा लैजाने?”
त्यसपछि शुरू हुन्छ ठाउँठाउँमा बाटोको अनेक झमेला। नत्थी किन लगाको? पराल किन हालेको? जस्ता बेतुक तर्क गर्छन्, तर जवाफ सुन्न चाहँदैनन्। ठाउँठाउँमा तेर्स्याएको अवरोध ‘पैसा’मा टुंगिन्छ। तीन दशकदेखि यही नियति भोगिरहेका छन् उनी। उनका अनुसार अन्तिममा सबैको मूल्य चुकाउने किसान नै हुन्। भन्सार, प्रहरी, तस्कर र बिचौलियाको चंगुल हुँदै किसानसम्म भैँसी आइपुग्दा बेहोरेको खर्चको सबै बोझ किसानको टाउकोमा आएर बज्रिन्छ।
‘भैँसी पाल्नेको इज्जत छैन’
प्रम दाहालले संसद्मा भैँसीको विषयमा हिचकिचाउँदै फिस्स हाँसेर छोटोमा टुंग्याए। त्यो हाउभाउले किसानको मान र इज्जत राखेन। गरिमामय त्यो संसद्मा किसानलाई इज्जत दिलाउने अवसर, मौका थियो प्रमको। जसरी भैँसी पाल्नेलाई कसैले इज्जत गर्दैनन्, प्रम दाहाल पनि तिनैको पिछलग्गु देखिए। भैँसीको आवश्यकता र महत्त्वबारे बताएर किसानको प्रतिष्ठा उँचो बनाउन प्रम दाहालले नचाहेको किसानहरूकै गुनासो छ।
चितवन भरतपुर १५ फूलबारीका रेशमबहादुर गौतमले मुर्रा र भैँसी पालेको ४० वर्ष भयो। “चितवनको सबै ठाउँमा नश्ल सुधार गर्न उहाँले पुर्याएको सहयोग अतुलनीय छ। तर उहाँले आजसम्म सरकारबाट कुनै प्रोत्साहन पाउनु भएको छैन। र उहाँको कुनै कदर भएको छैन,” उनका भान्जा चन्द्र बोहोराले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्, “१५ राँगोले देशभरका धेरै किसानलाई सहयोग पुर्याउन सकिन्छ। जसरी मेरो मामाले पुर्याउनु भएको छ।”
भैँसी पालेर उन्नति गरेका वीरेन्द्र आफ्नै विगत सम्झन्छन्, “मैले रौतहटबाट आउँदा केही पनि लिएर आएको थिइनँ। यतिका वर्ष मैले भैँसीको व्यवसाय गरेँ। यही काम गरी कमाएँ।”

उनले भैँसी व्यवसायबाट जग्गा किने, घर बनाए, तीन छोरा हुर्काए शिक्षादीक्षा दिए। एउटा छोरा बायोटेक पढ्दै छन्। अर्को आइटी अध्ययन गर्न अस्ट्रेलिया गए। अर्का छोरा पढ्न विदेश जाने तयारीमा छन्। व्यवसाय गरेका छन्, नियामानुसार सरकारलाई कर तिरेका छन्।
तर, उनी समाजले गरेको व्यवहारबाट दिक्क छन्। उनले गरेको कामलाई समाजले घृणाको दृष्टिले हेर्छ। उनलाई लाग्छ, पेसाको सम्मान गर्न नेपाली समाजले कहिल्यै सिकेन। इज्जत नहुँदा छोराहरूले यो पेसालाई फर्केर हेर्ने कुरै भएनन्। गाउँघरमा आफूले बेहोरेको विभेदबारे यसरी सुनाउँछन्, “जब गाउँघर, बजारमा हिँड्छु। सबले भन्छन् ‘ए, भैँसी, कति जनासँग झगडा गर्नु, कस्तो पेसा गरिए छ भन्ने कहिले त पछुतो लाग्छ।”
“सदनमा प्रधानमन्त्रीले भैँसीराँगाका विषयमा बोल्दा गर्वका साथ बोल्नुपर्थ्यो। उनी त आफ्नै बचाउमा लागे। नेपाली किसानको प्रतिष्ठा बढ्ने विषयमा प्रधानमन्त्री चुके,” वीरेन्द्रले भने, “गर्वसाथ बोलेको भए हाम्रो हिम्मत बढ्थ्यो, पेशाप्रति सम्मान जाग्थ्यो। तर, भैँसीको कुराले प्रधानमन्त्री नै लजाए।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
