माधव नेपालले भने– नेकपा ब्युँताउन तयार छु

नेपालमा राजावादीहरूले टाउको उठाउने कोसिस गरे पनि सफल हुन नदिने अध्यक्ष नेपालले बताएका छन्। 

काठमाडौँ– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गरेका छन्।

शनिबार भक्तपुरमा पार्टीको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेपालले सबै मिलेर अघि बढ्ने हो भने नेकपा ब्युँताउन आफू तयार रहेको बताएका हुन्।

“कमरेड विप्लव, जसपा अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो, हामीले बसेर छलफल गर्‍यौँ। छिटै मिलेर अघि बढ्ने सोच बनाएका छौँ । त्यसैले हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन,” अध्यक्ष नेपालले भने, “प्रचण्डजीलाई भन्छु म आउनुहोस्, हामी तयार हुन्छौँ, केपीजी तयार हुन्छन् रु नेपाल कम्युनिस्ट पार्टी फेरि ब्युँताऔँ।”

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली तयार भए आफू तयार रहेको बताएका हुन्। एमाले अध्यक्ष ओलीले ७० वर्षको उमेर हद हटाएर आफू कुर्सीबाट हट्न नचाहेको नेपालको आरोप थियो।

“एमालेमा त रुवाबासी चलिरहेको छ। तर, मान्छे आफ्नो के हुन्छ भन्ने सोच्न थाल्यो भने मैले कुर्सी छोड्नुपर्ला भनेर ७० वर्षको उमेर हद नै हटाइदिए। सल्लाहकार भएर बसे हुँदैन,” उनले भने, “मेरो उमेर भए म पनि बस्छु।”

नेपालमा राजावादीहरूले टाउको उठाउने कोसिस गरे पनि सफल हुन नदिने अध्यक्ष नेपालले बताए।