भद्रपुरमा सन्थाल आवास निर्माणका लागि २ करोड बजेट, नगरपालिकामार्फत खर्च हुने

संघीय सरकारले दिने २ करोड बजेटबाट सन्थाल समुदायका लागि १०० घर बनाउन सकिने भद्रपुर नगरपालिकाले जनाएको छ। उक्त नगरक्षेत्रमा ६३४ घर सन्थाल छन्।

भद्रपुर- झापाको भद्रपुर नगरपालिकामा ‘सन्थाल आवास’ निर्माणका लागि संघीय सरकारले २ करोड बजेट विनियोजन गरेको छ। उक्त रकम भद्रपुर नगरपालिकामार्फत खर्च हुनेछ।

विपन्न आदिवासी सन्थाल समुदायको घर निर्माणका लागि आगामी आर्थिक वर्ष २०८०/८१ का लागि संघीय सरकारबाट विशेष अनुदानस्वरूप उक्त रकम आउने जानकारी आएको भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले जानकारी दिए।

उक्त रकमबाट करिब १०० घर निर्माण गर्न सकिने रेग्मीले बताए। उक्त बजेटसँगै लाभग्राहीबाट केही लागत सहभागितासमेत गरी घर निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए। “कम लागतमा स्तरीय घर निर्माणका लागि नाप–नक्सा, स्टिमेट तयार गर्छौं,” उनले भने।

भद्रपुर नगर क्षेत्रमा ६३४ घर आदिवासी सन्थाल समुदायको बसोबास रहेको नगरप्रमुख गणेश पोखरेलले जानकारी दिए। आर्थिक अवस्था लगायतका आधारमा मापदण्ड बनाएर प्राथमिकता तय गरी घर निर्माण गरिने बताए। 

नगरपालिकाले चालु आर्थिक वर्षमा नगरमा रहेका सबै आदिवासी सन्थाल समुदायको निःशुल्क स्वास्थ्य बीमासमेत गरिदिएको छ। विपन्न र आर्थिक अवस्था कमजोर भएका समुदायको जीवनस्तर उकास्न नगरपालिकाले सक्दो प्रयास गरिरहेको पोखरेलको भनाइ छ ।