मर्ज हुन चाहने क्याम्पसका लागि त्रिविद्वारा निवेदन आह्वान

देशभर ३०० निजी, २१८ सामुदायिक र २१ आंगिक क्याम्पसमा १०० जनाभन्दा कम विद्यार्थी रहेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ।

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एकापसमा गाभिन (मर्ज हुन) चाहने क्याम्पसलाई निवेदन दिन आह्वान गरेको छ।

त्रिविको योजना निर्देशनालयले मंगलबार एक सूचना जारी गर्दै मर्ज हुन चाहने सम्बन्धन प्राप्त क्याम्पसलाई असार मसान्तसम्म निवेदन दिन भनेको हो।  

समायोजनबापत कुनै शुल्क नलाग्ने त्रिविले जनाएको छ। मर्ज हुन चाहने दुवै क्याम्पसको बेग्लाबेग्लै निवेदन, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्र, नवीकरण पत्र र अक्षयकोषको रसिद बुझाउनुपर्ने सूचनामा उल्लेख छ।

त्रिविबाटै सम्बन्धन पाएका आंगिक, सामुदायिक र निजी क्याम्पस विद्यार्थी र सञ्चालन खर्च अभावले संकटमा परेका छन्।

देशभर ३०० निजी, २१८ सामुदायिक र २१ आंगिक क्याम्पसमा १०० जनाभन्दा कम विद्यार्थी रहेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ।