भ्रष्टाचारीसँग कुनै पनि प्रकारको सम्झौता गर्दैनौँ: प्रधानमन्त्री

भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढेको प्रधानमन्त्री दाहालको दाबी छ।  

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट जनविरोधी अत्तालिएको बताएका छन्।

बुधबार पूर्व शिक्षामन्त्री स्व. डीआर पौडेलको चौथो स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचारीसँग कुनै पनि सम्झौता नगर्ने दाबी गरे।

“जनतालाई प्रत्यक्ष सेवा दिने, विदेशमा गएका नेपालीका हक अधिकार सम्बोधन गर्ने, देशभित्र हिजोदेखि रहेका थुप्रै विकृति र विसंगति रोक्न भएका प्रयास, भारत भ्रमण गरिएका पहल र प्रयासले एउटा सकारात्मक स्थिति देखिन्छ। यसबाट प्रतिक्रियावादी प्रतिगामी शक्तिहरू अत्तालिएका छन्,” उनले भने।

भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएको बताएका छन्। “सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढिरहेको छ। कतिपयले आशंका गरेको देख्छु। सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने,” उनले भने, “तर, प्रस्ट रूपमा भन्छु– सरकार मेरा लागि ठूलो कुरा होइन। ठूलो कुरा सुशासन हो। भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहीँ सम्झौता हुँदैन, झुकिँदैन।”

प्रधानमन्त्री दाहालले जनविरोधी तत्त्वहरू अजेन्डाविहीन बनेका र जनतामा नांगिएको पनि बताए।

अप्ठ्यारो, जटिलता र धेरै खालका घेराबन्दी बीचबाट लिइएको पहलबाट नै आफूहरू बलियो बनेको उनको भनाइ थियो।