६३ वटा बैंक खाता खोलेर करोडौँ सट्टेबाजी गरेको आरोपमा पाँच जना पक्राउ

प्रहरीका अनुसार पाँच जनाले कुल ७४ करोड १३ लाखको कारोबार गर्दा मुख्य एजेन्ट दिनेश खड्काले मात्र ६४ करोड रुपैयाँको कारोबार गरेको पाइएको छ।

तस्वीर: रासस

काठमाडौँ- विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा)का लागि प्रयोग हुने ‘वान एक्स बेट’मार्फत करिब ७४ करोड १३ लाख रुपैयाँको अवैध कारोबार गरेको आरोपमा प्रहरीले पाँच जनालाई फेला परेको छ । 

त्यसमध्ये ६४ करोड बराबरको कारोबार दिनेश खड्काबाट भएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भई चाबहिल बस्ने खड्काले विभिन्न व्यक्तिका नाममा खाता खोलेर कारोबार गरेका थिए। उनले विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी र अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेको प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज केसीले जानकारी दिए।

खड्का सट्टेबाजको मुख्य एजेन्ट भएको पनि प्रहरीको भनाइ छ। सट्टेबाजको रकम प्रयोग गर्न उनले ६३ वटा खाता खोलेको भेटिएको प्रहरीको भनाइ छ। डा. केसीका अनुसार उनीसहित सट्टेबाजीको एजेन्टका रुपमा सक्रिय अन्य चार जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। पक्राउ पर्नेमा दिनेशसहित, अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछाने छन्। 

प्रहरीका अनुसार दिपेशले ५ करोड ५४ लाख कारोबार गरेको फेला परेको। त्यस्तै, आशिषले ३ करोडको कारोबार गरेको फेला परेको छ।  आशिषको साथबाट प्रहरीले ३७ लाख नगद पनि बरामद गरेको जनाएको छ। त्यसबाहेक ल्यापटप, मोबाइल, सिमलगायत विभिन्न सामग्री पनि बरामद गरिएको छ। 

उनीहरुले क्रिप्टो करेन्सीको कारोबार गरेको प्रमाणसमेत फेला परेकाले राष्ट्र बैंक ऐन र जुवा ऐनबमोजिम  मुद्दा अघि बढाउने तयारी गरेको प्रहरीको भनाइ छ।