लेबनानको संसद् राष्ट्रपति चुन्न १२औँ पटकसम्म असफल

लेबनानमा भएको शक्ति बाँडफाँटअनुसार त्यहाँ राष्ट्रपति क्रिश्चियन समुदायको हुनुपर्छ। तर, संसद्‍मा अनेक समूह हुँदा राष्ट्रपति निर्वाचन जटिल बन्दै गएको छ।

लेबनालको संसद् १२औँ पटक पनि राष्ट्रपति चुन्न असफल भएपछि महिनौँदेखिको राजनीतिक गतिरोध तोडिन सकेको छैन।

बुधबार बसेको संसद् बैठकले पनि नयाँ राष्ट्रपति चुन्न सकेन। यसअघि गएको अक्टोबरमा नै तत्कालीन राष्ट्रपति माइकल अओनको कार्यकाल सकिएको थियो।

सांसदहरूबीच सहमति कायम हुन नसक्दा राष्ट्रपति चुन्न आवश्यक थ्रेसहोल्ड नपुगेको हो। अलजजिराले जनाएअनुसार हिजबुल्लाह गठबन्धनका ११ सांसदले सदन बहिस्कार गरेपछि कोही पनि उम्मेदवारको बहुमत पुगेन।

राष्ट्रपतिका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्व वरिष्ठ अधिकारीसमेत रहेका पूर्व अर्थमन्त्री जिहाद अजोर र माराडा पार्टीका नेता स्लेइमान फ्रान्जिहबीच मुख्य प्रतिस्पर्धा छ। हिजबुल्लाहले माराडा पार्टीका नेता फ्रान्जिहलाई समर्थन गरेका छन्।

लेबनानको शक्ति–बाँडफाँटमा राष्ट्रपति पद क्रिश्चियन समुदायको भागमा परेको छ। हिजबुल्लाहले विपक्षी जिहाद अजोरलाई ‘टकरावको उम्मेदवार’ भन्दै अस्वीकार गर्ने जनाएको छ।

पहिलो चरणको मतदानमा संसद्का १२८ मध्ये ८६ वा दुईतिहाइ सांसदले भाग लिनुपर्छ। पछिल्लो निर्वाचनमा अजोरले ५९ मत पाउँदा फ्रान्जिहले ५१ मत पाएका थिए। १८ सांसदले भने मतपत्र खाली राख्ने वा अन्य उम्मेदवारलाई मत दिएका थिए।

संसद्मा धेरै समूहको प्रतिनिधित्व तथा जटिल निर्वाचन प्रणालीका कारण त्यहाँ राष्ट्रपतिको निर्वाचन असहज भएको हो।