ग्रीसमा ४०० यात्रु सवार डुंगा डुब्दा कम्तीमा ७८ आप्रवासीको मृत्यु, १०० जनाको उद्धार

मृत्यु हुनेमा प्राय: सबै अफगानिस्तान र पाकिस्तानका पुरुषहरू रहेको द गार्डियनले जनाएको छ। तर, इटाली जाँदै गरेका ती आप्रवासी कसैले पनि तत्काल आफ्नो राष्ट्रियता खुलाउन नचाहेको बताइएको छ।

तस्वीर: बौगिओटिस एभान्जेलोस/ईपीए

ग्रीसको पेलोपोनी नदीमा माछा मार्ने डुङ्गा डुब्दा बुधबार यसमा सवार कम्तीमा ७८ आप्रवासीको मृत्यु भएको छ। आयोनियाली सागरको अन्तर्राष्ट्रिय जलक्षेत्रमा डुङ्गा पल्टिएपछि करिब १०० जनालाई उद्धार गरिएको छ।

ग्रीसको आप्रवासन मन्त्रालय स्रोतलाई उधृत गर्दै एएफपीले जनाएअनुसार कोस्टगार्डले माछा मार्ने डुङ्गामा अत्यधिक धेरै मानिस सवार थिए। “त्यहाँ धेरै ठूलो सङ्ख्यामा व्यक्तिहरू हराइरहेको हुनसक्ने हामीलाई प्राप्त खबरमा जनाइएको छ,” ती अधिकारीले भनेका छन्।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)ले ठूलो संख्यामा हराइरहेका व्यक्तिहरू रहेको जनाएको छ। आईओएमले ट्वीटरमा भनेको छ, “हामीलाई डर छ कि धेरै मानिसहरूको ज्यान गएको छ। प्रारम्भिक रिपोर्टअनुसार जहाजमा ४०० को हाराहारीमा यात्रु सवार थिए।"

मृत्यु हुनेमा प्राय: सबै अफगानिस्तान र पाकिस्तानका पुरुषहरू रहेको द गार्डियनले जनाएको छ। डुङ्गामा सवार कसैले पनि लाइफ ज्याकेट नलगाएको र आफ्नो राष्ट्रियता तत्काल नखुलाएको बताइएको छ। सयौँ मानिस बोकेको सो जहाज पूर्वी लिबियाबाट इटालीका लागि प्रस्थान गरेको थियो। यो माछा मार्ने ट्रलर वा कार्गो जहाज हो भन्ने स्पष्ट हुन सकेको छैन।

आईओएमले बुधबारसम्म पूर्वी भूमध्यसागरमा हराएका ४८ आप्रवासीको सूची सार्वजनिक गरेको थियो। अन्यबारे सूचना संकलन भइरहेको जनाइएको छ। ग्रीसका राष्ट्रपति कटरीना साकेलारोपोलोउले उद्धार र आवास प्रतिकार्यबारे वरिष्ठ अधिकारीहरूसँग छलफल गर्न कलामाटा बन्दरगाहको भ्रमण गर्ने बताएकी छन्। 

ग्रीसका सञ्चारमाध्यमहरूका अनुसार बन्दरगाहको अस्पतालमा करिब ३० जनालाई लगिएको छ। तर, ग्रीसको तटरक्षक बलले यो संख्या चार जना मात्र भएको जनाएको छ। 

ग्रीसमा सबैभन्दा धेरै मानिसको मृत्यु हुने गरी सन् २०१६ मा डुंगा दुर्घटना भएको थियो । उक्त घटनामा कम्तीमा ३२० जनाको मृत्यु भएको वा बेपत्ता भएको उल्लेख गरिएको थियो ।