‘वानएक्स बेटिङ’को प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारहरूलाई सरकारी वकिलको कार्यालयमा पेस

युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिएकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताए।

काठमाडौँ– गैर कानूनी अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा पक्राउ परेका कलाकार राजु पौडेल (राजु मास्टर) र मरीचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’सहित आठ जनामाथि प्रहरीले जुवा र राष्ट्र बैंक ऐनअन्तर्गत मुद्दा चलाने भएको छ।

पक्राउ पर्नेमा कलाकार पौडेल र श्रेष्ठसहित मरीचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल, पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र बेगम नेपाली रहेका छन्। बिहीबार प्रहरीले उनीहरूलाई पक्राउ गरी सरकारी वकिलको कार्यालयमा म्याद थपका लागि उपस्थित गराएका थिए। प्रहरीले पक्राउ परेकाहरूले युट्युबबाट ‘वानएक्स बेटिङ’ एपमार्फत बेटिङको प्रचार गरेको बताएको छ।

युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिएकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताए। उनले पक्राउ परेकामाथि जुवा ऐन र राष्ट्र बैंक ऐन आकर्षित हुने बताए।  

“पक्राउ परेका व्यक्तिले वान एक्सबेटलाई प्रमोसन गर्ने र प्रमोसन गरेबापत निश्चित कमिसन प्राप्त गरेको देखिएको छ। यसमा पपुलर टेली सिरियल सञ्चालन गर्ने र धेरै सब्स्क्राइब युट्युबमा भएकाहरू छन्। हाम्रोमा यो गैरकानूनी हो। जुवा ऐन र राष्ट्र बैंक ऐन आकर्षित हुन्छ,” उनले भने।

नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ। धारा १२५ को (२) को उपदफा (१) को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिबाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ।