प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिमा निर्वाचित सभापति नहुँदा कामकारबाही आफ्नो ढंगबाट अगाडि बढ्न नसकेको बताउँदै सांसदहरूले यथाशीघ्र सभापति चयन गर्न माग गरेका छन्।
काठमाडौँ– सांसदहरूले यथाशीघ्र समितिमा सभापति चयन गर्न माग गरेका छन्। प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिमा हालसम्म सभापतिको चयन हुन नसक्दा बैठकको ज्येष्ठ सदस्यले अध्यक्षता गरिरहेका छन्।
सांसदले निर्वाचित समिति सभापति नहुँदा समितिका काम कारबाही आफ्नो ढंगबाट अगाडि बढ्न नसकेको भन्दै यथाशीघ्र समिति सभापतिको चयन गर्न माग गरेका हुन्।
नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले समिति सभापति चयन नगर्दा समिति र संसद्ले तीव्र गतिले काम गर्न नसकेको स्वीकार गरे। गठबन्धनका नेताहरूले भागबन्डा गर्न ढिलाइ गर्नु नहुने भन्दै उनले छिटोभन्दा छिटो समिति सभापति चयन हुनुपर्नेमा जोड दिए।
“गठबन्धनका नेताहरू तुरुन्तै बैठक बसेर समितिको कार्याविभाजन गर्ने, कसलाई कुन समिति पर्ने हो त्यसअनुसार समितिको सभापति टुंग्याइदिएदेखि सभापतिको सक्रियता बढ्थ्यो,” उनले भने, “अहिले तारिख धान्नेजस्तो प्रकृतिको बैठक छ। कानून बनाउनु छ। जनताका सरोकारका विषयहरू सदनमा लैजानुपर्ने छ। अनुगमन गर्न जानुपर्ने छ। यी सबै विषय समितिको सभापछि छिटो नहुँदाखेरी छुटेका छन्।”
त्यस्तै, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले समिति सभापति नहुँदा समितिले गर्ने कामकारबाही प्रभावित भएको बताए। उनले कतिपय विषय सभापति आएपछि गर्ने भनेर पनि राखिएको समेत बताए। बजेट पास भएपछि समिति सभापति चयन हुने उनको भनाइ थियो।
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले यतिका दिनसम्म समिति सभापति चयन हुन नसक्नु अनुत्तरदायी र गैरजिम्मेवारीको पराकाष्ठा भएको बताए। उनले सत्तापक्षको कारण सभापति चयन हुन नसकेको उल्लेख गर्दै सत्तापक्षलाई गम्भीर बन्न आग्रह गरे।
“सरकारलाई आवश्यक निर्देशन दिनुपर्ने, निगरानी गर्नुपर्ने, यी कामहरू पनि हुन सकिराखेका छैनन्। समिति काम चलाउ मात्र छ अहिले। त्यसले गर्दा संसद्को प्रभावकारिता बढ्न सकेको छैन। सत्तापक्षको कारणले गर्दा समिति सभापति चयन हुन नसकेको हो। यसमा सत्तापक्ष गम्भीर बन्नुपर्यो,” उनले भने।
नेकपा एमालेका सचेतक महेश बर्तौलाले अविलम्ब सभापति चयनको कार्यतालिका सार्वजनिक गर्न सभामुखलाई आग्रह गरे। अनन्तकालसम्म ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्नु नहुने उनको भनाइ छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले समितिको कामलाई प्रभावकारी बनाउन सभापति चाँडै चाहिएको बताए। जनता समाजवादी पार्टी, नेपालकी सांसद सुशीला श्रेष्ठले ज्येष्ठ सदस्यले समिति बैठकको अध्यक्षता गरिरहेको उल्लेख गर्दै समितिको प्रभावकारीता ज्येष्ठ सदस्यको इच्छाशक्तिमा भर पर्ने बताइन्। यद्यपि, हालसम्म समितिको काम नरोकिएको उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
