हिले ब्याड बनाएर बिउ राख्ने पाल्पा रामपुरका किसानले यसवर्ष धुले ब्याड राखेका छन्। तर, धूले ब्याडको बिउसमेत सुक्न थालेको उनीहरूको गुनासो छ।
रामपुर– खेतमा यतिबेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बिउ हुन्थे। असारको दोस्रो हप्ता पछाडि किसानले धान रोप्ने तयारी गर्थे तर यस पटक भने पानी नपरेपछि बिउ राख्न नै समस्या भएको छ।
हरेक वर्ष हिले ब्याड राख्ने गरेकामा यस पटक पानी अभावमा धुले ब्याड राख्न बाध्य भएको पाल्पा रामपुरका किसान डोलराज तिवारीले बताए। “समयमा पानी पर्न सकेन, धुले ब्याड बनाएर बिउ राखियो, सिँचाइ दिन सकिएको छैन, दिनभर चर्को घामबाट जोगाउन स्याउला तथा बोराले माथिबाट ढाकेर राखिएको छ”, उनले भने।
उनका अनुसार कुलोको पानी पालो अनुसार सिँचाई दिन रातदिन धाउनुपरेको छ। पर्याप्त सिँचाइ दिन नपाउँदा ब्याडमा उम्रँदै गरेको बिउ सुक्ने अवस्थामा छन्। रातभर खेतमा पानीको पालो कुरेर बस्दासमेत दुई दिनमा एक पटक सिँचाइ दिन सकस भएको किसान शोभा आलेले बताइन्।
“पानीको पालोअनुसार ब्याड सिँचाइ गर्न दिनरात नभनीकन खेतमा धाउनुपरेको छ,” उनले भनिन् “दुई दिन बित्दासमेत पालो आउन मुस्किल पर्छ। खेतमा बिउ सुक्न लागिसक्यो। आकाशे पानी नपरेपछि किसानले धेरै सास्ती खेप्नु परेको छ।” घरधन्दा, छोराछोरीको रेखदेखका बाबजुद रातभर खेतमा पानी पालो पर्खेर बस्न पर्दा महिलालाई धेरै अप्ठ्यारो हुने गरेको मञ्जु पंगेनीले बताइन्। रातको समयमा डर त्रासका बाबजुद कुलोको मुहानमा पुगेर पानी ल्याएर सिँचाइ गर्न सकस परेको आलेको भनाइ छ।
हिले ब्याड बनाएर बिउ राख्ने यहाँका किसानले अहिले पानी अभावमा धेरैले धुले ब्याड राखेका छन्। असार लागिसक्दा पनि कतिपय ठाउँमा बिउ अझै राख्न पाइएको छैन। यस वर्ष मनसुन ढिला शुरू हुँदा धानको बिउ राख्न किसानले धेरै समस्या भोग्नुपरेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेले बताए।
“पानी नपरेपछि कुलो, नहरमा पानीको बहाव घटेको छ। पानीका मुहान, कुवा सुक्दै गएका छन्। पर्याप्त सिँचाइ भएका मूल, कुवाको मुहान नजिक भएका खेतमा हिलो गरेर बिउ राखिएको छ भने सिँचाइ कम सुविधा भएका ठाउँमा धुले ब्याड तयार भएका छन्,” उनले भनिन्।
पाण्डेका अनुसार यस क्षेत्रका आकाशे पानीको भरमा मात्र खेती लगाइने जग्गामा बिउ राख्न अझै बाँकी नै छ। कुलो, नहरमा ल्याइएका पानी खेतको मुहानमा पुग्न धौ धौ अवस्था छ। बिहानदेखि रात नपरुन्जेलसम्म चर्को घाम लागेकाले कुलो तथा नहरमा ल्याइएको पानी खेतसम्म पुर्याउन कठिनाइ छ।
ब्याडमा बिउ सुक्ने अवस्था हुन थालेपछि किसानले बोरा, स्याउलाले दिनभर छोपेर राख्ने गरेका छन्। बजारका एग्रोभेटबाट महँगो मूल्यमा बिउ खरिद गरेर ब्याड राखेका किसान सिँचाइ पर्याप्त दिन नपाउँदा उम्रन नपाई बिउ बिग्रने चिन्तामा छन्।
वर्षदिन खाने खेती समयमा नै बिउ राख्न नपाउँदा र ब्याडमा पर्याप्त सिँचाइ दिन नसक्दा किसान पिरोलिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
रासस
