प्रधानमन्त्रीलाई कांग्रेस सांसदले भने : हेक्का रहोस्, यो गठबन्धनको सरकार हो

नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले दाहाल नेतृत्वको सरकारबाट अपेक्षा गरे अनुरूपको बजेट आउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

काठमाडौँ– नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन आफूहरूले खेलेको भूमिकाको अवमूल्यन नगर्न चेतावनी दिएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सांसद घिमिरेले प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री बनाउन आफूहरूले दिएको मतको ख्याल गर्न आग्रह गरेका हुन्।

उनले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारबाट अपेक्षा गरे अनुरूपको बजेट आउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा बजेट विनियोजन गराउन मन्त्रालय कुद्दाकुद्दै जुत्ताको तलुवा खिए पनि ‘हात लाग्यो शून्य’ भएको बताए। उनले पार्टीको समर्थन पाएर मात्रै प्रधानमन्त्रीमा टिकिरहन्छु भन्ने नसोच्न प्रधानमन्त्री दाहाललाई चेतावनी दिए। उनले मुलुकको बजेटमा सांसदको पनि अधिकार रहेको बताए। 

“प्रधानमन्त्रीज्यू तपाईंलाई प्रधानमन्त्री बनाउन हाम्रा पनि मत जायर भएका छन्। तपाईंको सरकारबाट यस्तो अपेक्षा गरिएको थिएन। तपाईंलाई लागेको होला पार्टीको समर्थन पाएपछि पुग्छ। तर, विगतको इतिहास हेर्नुभएकै छ। आफ्नै बहुमत सरकार असफल बनाइदिएको। पार्टी फुटेको। पार्टीभित्रै पनि चरम गुटबन्दी मौलाएको। हेक्का रहोस् यो त गठबन्धनको सरकार हो। स्मरण रहोस् जनप्रतिनिधिको हैसियतले यो मुलुकको बजेट माथि हाम्रो पनि अधिकार छ,” उनले भने। 

उनले आफ्नै पार्टीका नेताहरूमाथि पनि विभिन्न प्रश्नहरू तेर्स्याए। उनले यसैको लागि एउटा गठबन्धन तोडेर अर्को गठबन्धनमा छिरेको हो भनी प्रश्न गरे। उनले कांग्रेसलाई ठूलो पार्टी बनाउन आफूजस्ता सांसदको पनि भूमिका भएको भन्दै यसरी पार्टी जोगाउन नसकिने बताए। उनले बजेट विनियोजनमा असमानता भएको भन्दै यस विषयमा पार्टीका नेताहरू बोल्ने कि नबोल्ने भन्ने प्रश्न गरे।