युक्रेनको प्रत्याक्रमण असफल हुन्छः रुसी राष्ट्रपति

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनको प्रत्याक्रमण असफल हुने बताएका छन्। 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनको प्रत्याक्रमण असफल हुने बताएका छन्। पछिल्लो समय किभका सेनाहरू दक्षिणपूर्वी क्षेत्र जापोरिझ्झियासहित थुप्रै दिशाहरूमा अगाडि बढ्न खोजिरहेका छन्।

"मलाई लाग्छ - युक्रेनको सशस्त्र सेना यहाँ र अन्य दिशाहरूमा अगाडि बढ्ने कुनै सम्भावना छैन - मलाई यसमा कुनै शंका छैन," पुटिनले सेन्ट पिटर्सबर्गमा वार्षिक आर्थिक मञ्चलाई सम्बोधन गर्दे उक्त टिप्पणी गरेका छन्।

पुटिनले युक्रेनमा रुसी सेना पठाउने कार्यको बचाउ गर्दै राष्ट्रपति भोलोदिमिर जेलेन्स्की नेतृत्वको सरकार नवनाजी शासन हो भन्ने आफ्नो दाबी दोहोर्‍याए। पुटिनले भनेका छन्, “मेरा यहुदी साथीहरूले जेलेन्स्की यहुदी होइनन् भन्छन्, तर यहुदी जनताका लागि उनी लज्जाको विषय हुन्।”

उनले युक्रेनमा जारी युद्धका कारण लगाइएको कडा अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद मुख्य अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा आफ्नो देशको सम्भावनाबारे व्याख्या गरेका थिए।

क्रेमलिनले रुसले आफ्नो देशप्रति अमैत्रीपूर्ण ठान्ने देशका पत्रकारलाई बुधबारदेखि शनिबारसम्म चलेको छलफलको रिपोर्टिङ गर्न प्रतिबन्ध लगाएको थियो।