युगान्डाको विद्यालयमा आईएसनिकट विद्रोहीको आक्रमण, २५ जनाको मृत्यु

इस्लामिक स्टेट (आईएस) समूहआबद्ध विद्रोही समूहको आक्रमणमा परेर पश्चिमी युगान्डाको एक विद्यालयमा कम्तीमा २५ जनाको ज्यान गएको छ।

इस्लामिक स्टेट (आईएस) समूहआबद्ध विद्रोही समूहको आक्रमणमा परेर पश्चिमी युगान्डाको एक विद्यालयमा कम्तीमा २५ जनाको ज्यान गएको छ। म्पोन्डवेस्थित ल्हुबिरिहा माविमा भएको आक्रमणमा थप आठ जना गम्भीर घाइते भएका छन्।

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) निकट मानिने युगान्डाको विद्रोही समूह एलाइड डेमोक्रेटिक फोर्सेज (एडीएफ)ले शुक्रबार विद्यालयमा आक्रमण गरेको प्रहरीले जनाएको छ। 

“अहिलेसम्म विद्यालयबाट २५ जनाको शव निकालिएको छ, अन्यलाई ब्वेरा अस्पतालमा पुर्‍याइएको छ,” केन्द्रीय प्रहरी प्रवक्ता फ्रेड एनांगाले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनका अनुसार विद्यालयमा आक्रमण शुक्रबार राति भएको थियो। आक्रमणका क्रममा विद्यालयको छात्रावासमा आगजनी गरिएको थियो भने खाद्यान्न पसलमा समेत लुटपाट भएको थियो। आक्रमणकारीले सो क्षेत्रमा बम विस्फोट गराएको अनुमान गरिएको छ।

दर्जनौँ मानिसहरू अपहरणमा परेको आशंका गरिएको छ। त्यस्तै, धेरै विद्यार्थीहरू अझै पनि बेपत्ता छन्।  मृतकको संख्या बढ्ने सक्ने बताइएको छ।

रक्षा प्रवक्ता फेलिक्स कुलाइगेले ट्विटरमा भनेका छन्, “हाम्रो सेनाले अपहरणमा परेकाहरूको उद्धार गर्न र यो समूहलाई सखाप पार्न खोजी कार्य जारी राखेको छ।” 

आक्रमणकारीहरू अफ्रिकाको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज विरुङ्गा राष्ट्रिय निकुञ्जतर्फ भागेका समाचारमा जनाइएको छ। यो निकुञ्जमा माउन्टेन गोरिल्ला लगायतका दुर्लभ प्रजातिहरूका जनावरहरू पाइन्छन्।

एडीएफ लगायतका मिलिसियाहरूले युगान्डा र रुवान्डाको सिमानामा रहेको विशाल भूभागलाई लुकेर बस्ने ठाउँको रूपमा प्रयोग गर्छन्। युगान्डा र डीआरसीले पूर्वी कंगोमा एडीएफको आक्रमण रोक्न संयुक्त सैन्य अभियान चलाएका छन्।