मिथकीय पात्र सीतामाथि 'नागरिक'को दाबी भइरहँदा र सो दाबी पेश गर्नेलाई राष्ट्रियता र राष्ट्रभक्तिसँग जोडिरहँदा नीरज कामतहरू 'नागरिक' बन्नकै लागि जीवन र मृत्युको अत्यासलाग्दो लडाइँ लडिरहेका छन्।
अहिले बजार तीन कुराले तताएको छ।
पहिलो, भारतले नयाँ संसद्मा राखेको 'अखण्ड भारत'को नक्सा जसमा लुम्बिनी र कपिलवस्तु समावेश छ। यही छेकोमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण र अखण्ड भारतको नक्सामाथि उनले चर्चा नगरेको भन्दै गरिएको टिप्पणी।
दोस्रो, काठमाडौँका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा त्यसलगत्तै राखेको 'ग्रेटर नेपालको नक्सा'।
तेस्रो, बालेन शाहले आफ्नो सामाजिक सञ्जालमा राखेको भर्खरैको तातो स्ट्याटस, जसमा भनिएको छ– दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन, तबसम्म काठमाडौँ महानगर पालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन। यो सच्याउन तीन दिनको समय दिइएको छ। माता सीताको जय होस्।
त्यस 'डायलग'लाई 'म्युट' गरेर पठाइएपछि काठमाडौँभित्र शनिबारबाट फिल्म चल्न थालिसकेको छ। भारतमा या नेपालका अन्य क्षेत्रमा सो फिल्मको विवादित भनिएको डाइलग हटाइएकोबारे अहिलेसम्म खबर आएको छैन।
बालेन शाहको उक्त वक्तव्यलाई लिएर उनी राष्ट्रभक्त, देशको नायक भएको र भारतको हेपाहा प्रवृत्तिविरुद्ध मेयरले साहसिक काम गरेको लगायत अनेक खालका प्रतिक्रियाले सामाजिक सञ्जाल तातिरहेकै छ। सामाजिक सञ्जाल 'राष्ट्रभक्ति'मा लिछिप्पै रुझेको छ। राष्ट्रियताको फेसनले बजार चिटिक्क सजिएको छ। राष्ट्रियताका बारेमा आलोचनात्मक कुरा राख्नेहरूसँग एक खालका राष्ट्रवादीहरू अरिंगालको गोलोझैँ खनिएका छन्, खनिन्छन्।
कथानक चलचित्र ‘आदिपुरुष’लाई जोडेर राष्ट्रियताको बहस चल्दै गर्दा गत हप्ता माइतीघरमा 'नागरिकताविहीन संघर्ष समिति'ले आयोजना गरेको विरोध कार्यक्रममा शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका मोरङ कटहरिका नीरजकुमार कामतबारे थोरै मात्र चर्चा भएको छ। मोरङका नीरजकुमारको नागरिकताको विषय बालेनलाई ‘बाल’ हुने कुरा पनि भएन। कहाँ मिथकको कुनै पात्र, कहाँ नागरिकता नपाएको जिउँदो पात्र!
मिथकीय पात्र सीतामाथि 'नागरिक'को दाबी भइरहँदा र सो दाबी पेश गर्नेलाई राष्ट्रियता, राष्ट्रभक्तिसँग जोडिरहँदा अर्कातिर, नीरज कामतहरू 'नागरिक' बन्नकै लागि जीवन र मृत्युको अत्यासलाग्दो लडाइँ लडिरहेका छन्। राज्यसँग उनी नागरिकताको अग्निपरीक्षा दिइरहेका छन्।
राज्य के हो?
रिकर्ड बर्घर्ट भन्छन्, ‘राष्ट्र/राज्य भनेको सरकारको एउटा रूप हो, जसलाई सांस्कृतिक रूपमा विशिष्ट र अद्वितीय जनताको इच्छा वा चरित्रको अभिव्यक्तिका रूपमा हेर्ने गरिन्छ। राज्य/राष्ट्रको राजनीतिक सिमाना क्षेत्रीय सीमांकनको आधारमा तय गरिन्छ। यहाँ क्षेत्रीय सीमांकनकै आधारमा जनताहरू पनि बाँडिन्छन्।’
यस्तै प्रकारको राज्य नेपालको 'आधुनिक संरचना' भएको जिकिर गर्दै बर्घर्ट भन्छन्, ‘यदि 'एकीकरणको इतिहास'भन्दा पहिले फर्किने हो भने यो प्रकारको राज्यको उपस्थिति पाउन सकिँदैन। सुगौली सन्धिमा हस्ताक्षरपछि नेपालको एकीकरण रोकियो, नेपाल सीमाबद्ध भयो र आधुनिक राज्यको सोचको जन्म भयो। नेपालको राजनीति सदैव 'ब्रिटिस इन्डिया' र पछि स्वतन्त्र भारतबाट प्रभावित रहेको छ।’
महिला, बालबालिका, दासदासी, विदेशी र खानी आदिमा काम गर्ने अन्य कामदारहरूलाई 'नागरिक' मान्न अस्वीकार गर्ने एरिस्टोटलका लागि राज्य व्यक्तिहरूद्वारा निर्मित एउटा समुदाय हो र प्रत्येक समुदायको एउटा 'उद्देश्य' हुन्छ। सो उद्देश्य सधैँ राम्रो हुन्छ। उनका लागि 'नागरिक' तिनै हुन्, जो नागरिकता लिन लायक छन्, जसले स्वतन्त्र मानिसका रूपमा कसरी शासन गर्ने र स्वतन्त्र व्यक्तिको रूपमा कसरी आदेश पालन गर्ने भन्ने जाने/बुझेका हुन्छन्। उनी एकै क्षेत्रमा जन्मिएका र बसोबास गरिरहेका सबैलाई नागरिक मान्न इन्कार गर्छन्, किनकि दासहरू पनि एउटै क्षेत्र या एउटै घरपरिवारभित्र बसोबास गरिरहेका हुन्छन्।
यो भनाइ पढेपछि हामीलाई लाग्छ, के हाम्रो राज्य पनि एरिस्टोटलकै उक्त कथनसँग सहमत हो? उसो भए, नागरिकताविहीनहरूलाई किन 'नागरिक' बनाउन डराउँछ ऊ?
हामी मान्न सक्छौँ, राज्य व्यक्तिहरूको त्यस्तो संगठन हो, जसलाई राजनीतिले बाँधेर राखेको हुन्छ, जसले राष्ट्रका कामकारबाही विभिन्न अंगहरूमार्फत गरिरहेको हुन्छ। यसको आफ्नै क्षेत्र र कानून हुन्छ। सो क्षेत्रभित्र बसोबास गर्ने र कानूनी परिभाषाभित्र पर्ने सबै नागरिक हुन्छन्।
राष्ट्र मान्छेहरूको त्यस्तो झुन्ड हो, जसमा एकले अर्कालाई नचिने र नदेखे पनि 'आफ्नोपन'को आभास हुन्छ। ती मान्छेहरू जो एउटै/उस्तै खालका सांस्कृतिक विरासतबाट आएका हुन्छन्, जसको इतिहास, भाषा, रहनसहन, रीतिरिवाज आदि करिब उस्तै हुन्छ। भौगोलिक सिमाना एउटै हुनेहरूको पनि राष्ट्र हुनसक्छ। अतः खास भावनामा समेटिएका व्यक्तिहरूको 'समूह' नै राष्ट्र हो।
के हो राष्ट्रियता?
मानवशास्त्री अर्नेस्ट गेलेनरका लागि राष्ट्रियता मुख्यतया एउटा राजनीतिक सिद्धान्त हो, जसले राजनीतिक र राष्ट्रिय इकाई एकरूप हुनुपर्छ भन्ने मान्यता राख्छ। उनी राष्ट्रियतालाई एउटा 'सेन्टिमेन्ट'को रूपमा व्याख्या गर्छन्। यस्तो 'राष्ट्रिय भावना' आफ्नो सिद्धान्त उल्लंघन हुँदा देखिने आक्रोश र सोही सिद्धान्तको परिपूर्ति हुँदा देखिने 'उमंग' हो। राष्ट्रियता केबल राज्यको सीमामा मात्र सीमित रहँदैन, यो त सामाजिक–सांस्कृतिक सत्तासम्म पुग्छ र आफ्नोपनको भावना जगाउँछ। त्यस्तो आफ्नोपन नै राष्ट्रियता हो।
भारतले 'अखण्ड भारत'को नक्सा उसको संसद् भवनभित्र राख्दाको आक्रोश होस् वा बालेनले 'ग्रेटर नेपाल'को नक्सा राख्दा होस् वा 'महापुरुष'प्रतिको प्रतिबन्धको कुरा गर्दा मनाइएको 'उत्सव' त्यही राष्ट्रियताको उपज हो। 'एक राजा, एक देश र एक भेष'को नारा लगाउने महेन्द्र शाहको 'मन्डले राष्ट्रियता'को असर हो। गेलेनरका लागि सांस्कृतिक एकरूपता राष्ट्रियताको आधार हो।
तर महेन्द्रशैलीको राष्ट्रवाद अब सम्भव छैन। किनकि, हाम्रो राष्ट्रभित्रै अनेकौँ राष्ट्रियता छन्। भाषिक, क्षेत्रीय, सांस्कृतिक, लैंगिक पहिचान आफैँमा राष्ट्र हुन्। त्यसो हुँदा नेपालभित्र अनेकौँ राष्ट्र छन् र नेपाल देशभित्र ती राष्ट्रहरू बाँचेका छन्।
गेलेनर भन्छन्– ‘राष्ट्रवाद राज्यभन्दा पहिलै हुन्छ, तर राज्यविहीन समाजमा राष्ट्रवादको अनुभव गर्न सकिँदैन।’ हामीलाई राष्ट्रियता सधैँ थियोजस्तो लाग्छ, तर राष्ट्रियताको भावना आधुनिक औद्योगिक समाजको आगमनसँगै टुप्लुक्किएको गेलेनरको विश्वास छ।
राष्ट्र, राज्य र राष्ट्रियता मानिसको भावनासँग जोडिएका हुन्छन्। तर यसैलाई मानिसको काल्पनिकीसँग जोड्ने बेनेडिक्ट एन्डर्सनजस्ता सिद्धान्तकार पनि छन्। उनी दाबी गर्छन्, ‘राष्ट्र एउटा काल्पनिक समुदाय हो, जसले आफ्ना सदस्य/ नागरिकलाई पहिचान र आबद्धताको भावना दिन्छ।’ राष्ट्रलाई एउटा समुदायको रूपमा लिइन्छ। उनी भन्छन्, ‘राष्ट्रलाई सधैँ गहिरो, सिधा साथीत्वको रूपमा परिकल्पना गरिन्छ, यद्यपि ती मान्छेहरू एक आपसमा कहिल्यै भेट्दैनन्।’
बेनेडिक्टका अनुसार 'प्रिन्ट क्यापिटालिजम'को विकाससँगै पश्चिमी देशहरूमा राष्ट्रियताको भावना विकास हुन थाल्यो। छापाको विकासले 'राज्य र राष्ट्रवाला राष्ट्रवाद'को तीव्र विस्तार गरेको उनको भनाइ छ।
नेपालको कुरा गर्ने हो भने, दशवर्षे सशस्त्र विद्रोह, दोस्रो जनआन्दोलन र इन्टरनेट सेवाको उपलब्धतासँगै राष्ट्रियताको भरपुर विकास, विवाद र बहस हुँदै आएको पाइन्छ। 'एक देश, एक भेष'को राष्ट्रियता अब ‘हाम्रो पहिचान, संस्कृति, इतिहास खोइ?’ भन्दै प्रश्न गर्न सक्ने राष्ट्रियतासम्म आइपुगेको छ। राष्ट्रियता सदैव उस्तै रहँदैन, यो परिवर्तनशील छ।
राष्ट्रियतालाई केवल राष्ट्रसँग जोडेर हेर्नू भ्रम हो, जुन तपाईं/हामी सबैले पालिरहेका छौँ।
एउटा भौगोलिक क्षेत्रभित्र जन्मेर, उस्तै भाषा, रहनसहन, रीतिरिवाज, धर्म, संस्कृति आदि भएका मानिसहरूसँग हुने 'आफ्नोपन'को भावना पनि राष्ट्रियता हो। तर लिंग र वर्गका आधारमा पनि राष्ट्रियता हुन्छ, किनकि राष्ट्रियता भनेको एउटा भावना हो, एक आपसमा जोडिने भावना। एकत्वको भावना।
हामीहरूलाई के लाग्छ भने– प्रादेशिक विभाजन राष्ट्रघात हो, अल्पसंख्यकहरूले 'पहिचान' माग्नु जायज छैन, 'हिन्दू मतालम्बी बहुल भएको देश धर्मनिरपेक्ष हुनुहुन्न, निःशर्त आमाको नामबाट नागरिकता दिँदा राष्ट्रियता खतरामा पर्छ।' जनजाति, महिला, अल्पसंख्यक र अराजकतावादी आदिबाट राष्ट्रियतामा खतरा लिन्छौँ। जबकि, यी सबैसँग राष्ट्रियता हुन्छ। राष्ट्रियता केबल राज्य र देशको 'बोर्डर'सँग मात्र सम्बन्धित हुँदैन। तर हामी यो कुरा बुझ्न तयार छैनौँ। हामीले बोक्ने 'विचार'को पनि हुन्छ राष्ट्रियता।
हाम्रा पुर्खाले कल्पनामा निर्माण गरेका भगवान् र तिनको 'नागरिक दाबी' पनि एउटा कल्पनाशील राष्ट्रवाद हो। नेपाल भूगोलको सांस्कृतिक एकरूपता खोज्दै ‘राजा आऊ, देश बचाउ’ भन्नेहरूको भीड यहीँ छ। उनीहरू 'हिन्दु राष्ट्रियता' खोजिरहेछन्। उनीहरू धार्मिक पुस्तकबाट पात्रहरू निकालीनिकाली बेलाबेला तिनकै 'नागरिकताको दाबी' गर्छन्। करिब दुई अढाई वर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले 'राम नेपालकै हुन्' भन्दै मिथक पात्र रामलाई समेत नेपाली राष्ट्रियताको बहसमा छिराएका थिए।
राष्ट्रियताको बहसको यस्तै रापतापकै बीच केही जिउँदो जनसंख्या ‘मलाई पहिचान देऊ, मलाई नागरिकता देऊ’ भनेर चिच्याइरहेको छ- उच्च शिक्षा पढ्न, जागिर खान, बैंकमा खाता खोल्न, सिम कार्ड किन्न, आफ्नो नाममा सम्पत्ति जोड्न र सबैभन्दा ठूलो कारण,‘म यही देशको हुँ" भन्न, मसँग राष्ट्र/देश छ भनेर महसुस गर्न।
मिथकका अनेक चर्चा छाडेर, नागरिकता पाउन मरिहत्ते गर्ने जिउँदो जनसंख्याको भावना नियाल्ने कि सेलिब्रिटीज्यू, नेताज्यू! तिनलाई नागरिकता दिलाउन लाग्ने कि!
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
