बाढी र पहिरोका कारण ताप्लेजुङका धेरैजसो सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध बनेका छन्। तमोर र मैवा नदीमा बाढी आएपछि दोभान बजारका स्थानीय मध्यरातमा नै घर छाडेर सुरक्षित स्थानमा सरेका थिए।
ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ६ मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन्।
स्थानीय कमल कडरियाका अनुसार पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन्। यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता भएका छन्। खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएका हुन्।
पहिरो गएको क्षेत्रमा साब्लाखुबाट प्रहरी गइरहेको सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाले जानकारी दिइन्। पहिरोले मेहेलेका राजकुमार गौतमको एउटा घर बगाएको छ भने अर्को घर जोखिममा छ। यस्तै देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्यचौकीको बगाएको छ।
अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरीजंघा र सिदिङ्वा गाउँपालिकाका अधिकांश नागरिक त्रसित छन्। बाढी र पहिरोले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युत्समेत ठप्प छ।
मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी पहिरो आएपछि तराई जोड्ने सडक पनि अवरुद्ध बनेका छन्। थप क्षतिसहित यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यस्तै, बाढीले सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ। गएराति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले जानकारी दिए। उनका अनुसार सोही क्षेत्रका डिल्ली सेलिङ, रामबहादुर सेलिङ र मीन बुढाथोकीको घर जोखिममा छन्।
बाढी बस्तीतर्फ पसेपछि घर छाडेर सुरक्षित क्षेत्रमा सरेकाले मानवीय क्षति भएको छैन। बाढीले इङ्वाखोला जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ। खोला किनारको खेतीयोग्य जमिनसमेत बगाएको छ भने केही पशुचौपायासमेत बगाएको जनाइएको छ।
यसैगरी, मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ। बाढीले बजार क्षेत्र कटान गरेपछि दुई घर उच्च जोखिममा रहेको स्थानीय प्रदीप पोखरेलले बताए। उनका अनुसार दीपक धिताल र सुकबहादुर लिम्बूको घर उच्च जोखिममा छन्। बाढी सामान्यतया घटे पनि पानीको बहाव घटेको छैन।
मध्यरातमा बाढी आएपछि बजारका आधाजसो घरपरिवार अन्तै सरेका छन्। बाढीले मेरिङ्देन गाउँपालिकातर्फ जाने खोला किनारको सडकसमेत बगाएपछि बाटो पूर्ण रूपमा अवरुद्ध बनेको बताइएको छ।
मैवाखोला–२ र ५ नं वडा जोड्ने खार्तेखोलाको झोलुंगे पुल बगाएको स्थानीयले बताए। रातभर अत्यधिक वर्षासँगै ठाउँ–ठाउँमा बाढी र पहिरो झरेपछि जिल्लाका अधिकांश गाउँघरका मानिस रातभर नै जाग्राम बस्नुपरेको छ। जिल्लाका सबै ठाउँमा वर्षा भएको थियो।
बिहीबार रातिमात्र सिरीजंघा गाउँपालिकाको याम्फुदिनमा बाढीले क्षति पुगेको थियो। यहाँका पाँचवटा सरकारी कार्यालय स्थानान्तरण गरिएको छ भने १५ घरपरिवार अन्तै सरेर बसेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
