सत्ता पक्षीय सांसद भन्छन्– समाजवादी शक्तिलाई एकताबद्ध गर्न मोर्चा, एमाले– ‘बार्गेनिङ पावर’ बढाउने उद्देश्य
एमालेले ‘बार्गेनिङ पावर’ बढाउन समाजवादी मोर्चा बन्ना लागेको टिप्पणी गर्दा एकीकृत समाजवादी र माओवादी केन्द्रका सांसदले देशलाई स्थिर रूपमा अगाडि बढाउन समाजवादी शक्ति एकताबद्ध हुन लागेको बताएका छन्।
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘बार्गेनिङ पावर’ बढाउन समाजवादी मोर्चा बनाउन लागिएको टिप्पणी गर्दा सत्तारुढ दल एकीकृत समाजवादी र माओवादी केन्द्रका सांसदहरूले देशलाई स्थिर रूपमा अगाडि बढाउन समाजवादी शक्ति एकताबद्ध हुन लागेको भन्दै त्यसको बचाउ गरेका छन्।
आइतबार सांसद भवनबाहिर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै एमाले सांसद रघुजी पन्तले सत्ता गठबन्धनभित्र बलियो बन्ने तत्कालीन उद्देश्यअनुरूप समाजवादी मोर्चा बन्न लागेको टिप्पणी गरिरहँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशभक्त, वाम–लोकतान्त्रिक र समाजवादी शक्तिलाई एकताबद्ध गर्न मोर्चा बनाउन लागिएको तर्क गरे।
अध्यक्ष नेपालले समाजवादी शक्तिहरूलाई मिलाएर बनाइने सो मोर्चा वैचारिक मोर्चा हुने भन्दै निश्चित विचार र सिद्धान्तका लागि एकताबद्ध हुनु स्वाभाविक भएको बताए।
“निश्चित विचार र सिद्धान्तका लागि एकताबद्ध भएर जाने कुरालाई स्वाभाविक ठान्नुपर्दछ। र खुशी हुनुपर्दछ। त्यसैले हामीले समाजवादी शक्तिहरूलाई एक ठाउँमा गोलबद्ध गरिरहेका छौँ,” उनले भने। समाजवादको दिशामा अघि बढ्ने शक्तिहरू मिल्ने मान्यता रहेको भन्दै सहमत भएका पक्षलाई समेट्दै जाने उनको भनाइ थियो।
त्यस्तै, एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले देशलाई स्थिर रूपमा अगाडि बढाउनका लागि राजनीतिक दलहरूबीचमा एकता आवश्यक भएकाले मोर्चा बनाउन लागिए प्रस्ट्याए। उनले मोर्चा कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्ने उद्देश्यको पहिलो खुड्किलो भएको दाबी गरे।
“नेपालको कम्युनिस्ट पार्टी, आन्दोलनलाई एकीकृत रूपमा अगाडि बढाउने मनसायका साथ मोर्चा पहिलो खुड्किलोको रूपमा अगाडि बढाएका छौँ। यसलाई हामी पार्टी एकताको प्रक्रियासम्म पुर्याउने गरी अगाडि बढेका छौँ,” उनले भने।
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्राप्त राजनीतिक परिवर्तनलाई स्वीकार गर्दै संविधानको रक्षा र सफल कार्यान्वयन गर्ने सामूहिक प्रतिबद्धता भएका राजनीतिक दलहरूका बीचमा मोर्चा बन्न लागेको बताए। देशमा विकास, समृद्धि र सुशासन स्थापनाका लागि मोर्चा आवश्यक रहेको उनले बताए। उनले सत्ता साझेदार दलहरूका बीचमा कुनै खटपट भएर मोर्चा बनाउन नलागेको स्पष्ट पारे।
“विचारधारात्मक हिसाबले, राजनीतिक, कार्यनीतिक हिसाबले हामी एक ठाउँमा उभिन सक्यौँ, मुलुकको विकास, समृद्धिको नेतृत्व गर्ने, सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर, जनताको इच्छा, आंकाक्षा, राष्ट्रिय आकांक्षा प्राप्त गर्न सक्ने राजनीतिक दल, पात्र र प्रवृत्तिहरूको केन्द्रीकरणको उद्देश्यले समाजवादी मोर्चा निर्माण गर्न लागिएको हो। सरकारमा कुनै समस्या छैन,” उनले भने।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले सत्ताभित्र ‘बार्गेनिङ पावर’ बढाउनका लागि मात्र मोर्चा बनाउन लागिएको टिप्पणी गरे। सो मोर्चाले मुलुकको राजनीतिलाई सुविचारित र उपयुक्त दिशा दिन भूमिका खेल्न नसक्ने उनको भनाइ छ।
“सत्ताको गणितलाई तलमाथि गर्न सक्ने एउटा स्ट्रेन्थ त बन्छ। त्यसको बार्गेनिङ क्षमता त बढ्न सक्ला। तर त्यसले मुलुकको राजनीतिलाई सुविचारित र उपयुक्त दिशा दिन भूमिका खेल्छ भन्ने सम्भावनाचाहिँ अहिलेसम्म मैले देखेको छैन। आफ्नो पक्षलाई सत्ता गठबन्धनभित्र बलियो बनाउने नै उहाँहरूको तत्कालीन उद्देश्य देखिन्छ,” उनले भने।
त्यसैगरी एमालेका सांसद ठाकुरप्रसाद गैरेले नफल्ने खेती भएको टिप्पणी गर्दै मोर्चाले कुनै लाभ दिन नसक्ने दाबी गरे। उनले माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरू समाजवादी आन्दोलनकै पक्षमा नभएका समेत बताए।
“कम्युनिस्ट आन्दोलन बलियो बनाउने उहाँहरूको स्पष्ट दृष्टिकोण छैन। उहाँहरूसँग समाजलाई अगाडि बढाउनका लागि कुनै ठोस कार्यक्रम र योजनाहरू छैनन्,” उनले भने।
उनले सत्तारूढ दलहरूले समय–समयमा वाम लोकतान्त्रिक गठबन्धन र समाजवादी मोर्चा बनाइरहँदा आमजनताले ठीक पार्टी एमाले नै रहेछ भन्ने महसुस गर्न अवसर पाउने बताए।
सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्रमा राजनीतिक दलहरूका बीचमा मोर्चा बनाउन पाइने भए पनि यति चाँडै अर्को मोर्चा किन बनाउनुपर्यो भनी प्रश्न गरे।
उनले सत्तारूढ दलहरूसँगको आफ्नो पार्टीको गठबन्धन लोकतन्त्र र गणतन्त्र जोगाउने शर्तमा भएको बताउँदै भने, “लोकतन्त्र, गणतन्त्र जोगाउने उहाँहरूको जहिलेसम्म नीति रहन्छ, त्यतिखेर हाम्रो सहकार्य चल्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
