सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री सवार गाडी दुर्घटना, चार जना गम्भीर घाइते

दुर्घटनामा मन्त्री सिंहसहित चार जना गम्भीर घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी प्रज्वल महर्जनले जानकारी दिए।

दुर्घटनाग्रस्त मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी।

काठमाडौँ– सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटनामा परेको छ। 

डडेलधुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा मंगलबार दिउँसो १ बजेर ४५ मिनेटमा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा मन्त्री सिंहसहित चार जना गम्भीर घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी प्रज्वल महर्जनले जानकारी दिए। 

“दुर्घटना भएर मन्त्रीसहित चार जना गम्भीर घाइते भएको भन्ने खबर आएको छ। अहिले उद्धार गरेर नजिकैको पोलिक्लिनिकमा उपचार भइरहेको छ,” उनले भने, “त्यहाँबाट थप उपचारका लागि लैजान परामर्श भइरहेको छ।” 

सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेर दुर्घटना भएको हो। मन्त्री सिंहको खुट्टा र अनुहारमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण आइसकेको छैन।