अर्थ समितिमा बोल्दै अधिकांश सांसदले धितोपत्र बोर्डले समितिको निर्देशन र सुझावभन्दा बाहिर गएर नयाँ ब्रोकरलाई लाइसेन्स दिएको भन्दै आशंका गर्ने अवस्था रहेको बताएका छन्।
काठमाडौँ– धितोपत्र बोर्डले नयाँ ब्रोकरलाई लाइसेन्स दिएकोबारे अर्थ समितिमा सांसदहरूले शंका व्यक्त गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बोल्दै अधिकांश सांसदले धितोपत्र बोर्डले समितिको निर्देशन र सुझावभन्दा बाहिर गएर नयाँ ब्रोकरलाई लाइसेन्स दिएको भन्दै आशंका गर्ने अवस्था रहेको बताएका हुन्।
सांसदहरूले बोर्डले समितिको सुझावभन्दा बाहिर गएर मापदण्ड पूरा नगरेको र निष्पक्ष रूपमा लाइसेन्स वितरण नभएकोले शंका गर्ने ठाउँ भएको बताए। उनीहरूले बोर्डले ब्रोकरलाई धितोपत्र दलाल कारोबारको लागि मापदण्ड पूरा नगरी अनुमति पत्र दिएको पाइए कारबाहीको गर्नुपर्ने बताए। सांसदहरूले अर्थसमितिले विवरण माग्दा माग्दै धितोपत्र बोर्डले ब्रोकरलाई किन लाइसेन्स वितरण गरियो भन्दै प्रश्न गरे।
समिति बैठकमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले ब्रोकरहरूलाई ब्रोकर लाइसेन्स वितरण स्वच्छ र कानूनसम्मत निर्णयमा भए/नभएको हेर्ने अर्थ समितिको मुख्य विषय भएको बताए। धितोपत्र बोर्डका हरेक काम कारबाही कानूनसम्मत र स्वच्छ प्रतिस्पर्धामा आधारित हुनुपर्ने उनको भनाइ छ।
उनले धितोपत्र बोर्ड ब्रोकरहरूलाई लाइसेन्स मापदण्डअनुसार वितरण भए/नभएको विषयमा हेर्न बोर्ड आफैँले मूल्यांकन गर्न आवश्यक रहेको बताए। उनले धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स वितरणका लागि बनाएका मापदण्डहरू राम्रो भएको भन्दै कार्यान्वयन पनि बोर्डले गराउन सक्नुपर्ने भनाइ राखे।
पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ब्रोकर लाइसेन्स वितरणमा कानून बमोजिम, पारदर्शी रूपमा धितोपत्र बोर्डका अध्यक्ष जबाफदेही हुनुपर्ने बताए। उनले ब्रोकर लाइसेन्स वितरण कानूनबमोजिम प्रक्रिया अघि बढाएर अहिलेको अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ ध्यान केन्द्रित बताउन आग्रह गरे। उनले आवश्यकता भए समितिले धितोपत्र बोर्डको कानूनसमेत परिवर्तन गरेर जान सक्ने बताए।
त्यस्तै, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले नेपालमा कति वटा ब्रोकर आवश्यक छ भन्दै प्रश्न गरे। सांसद चौधरीले बजारलाई खुला र प्रतिस्पर्धी बनाउने नाममा ५०० जनालाई ब्रोकर लाइसेन्स दिइराख्ने कुरा ठीक हो, पुँजीबजार यो तरिकाले चल्छ भन्दै प्रश्न गरे। उनले अहिलेलाई १८ जनालाई लाइसेन्स दिइहाल्ने तर बाँकीलाई ३ वर्षपछि लाइसेन्स दिने सिन्डिकेट ठीक नभएको बताए।
त्यस्तै, सांसद सूर्य थापाले अघिल्लो समितिको सिफारिस एकातिर राखेर नयाँ लाइसेन्स किन दिइयो? भन्दै उनले प्रश्न गरे। उनले कतिपय ब्रोकरले कागजात पछि बुझाउँदा पनि लाइसेन्स पाएको दाबी गरे। उनले समितिले विवरण माग गरेपछि रातारात लाइसेन्स दिइनु आफैँमा शंकास्पद भएकोसमेत बताए।
उनले धितोपत्र बोर्डले गर्ने काम प्रतिस्पर्धी र निर्वावित हुनुपर्ने बताए। उनले बोर्डले असोज २ गते ४५ दिनको सूचना राखेर पुरानो संसद्को समय सकिने र नयाँ संसद् नआई पुग्ने समय छानेर नयाँ ब्रोकर लाइसेन्सका लागि सूचना किन निकाल्नु भयो ? भन्दै प्रश्न गरे।
गलत मनसाय राखेको छैन: अध्यक्ष हमाल
धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको इजाजत दिने प्रक्रियामा आफूले कुनै गलत मनसाय नराखी काम गरेको बताए। उनले लाइसेन्स वितरण प्रक्रियामा गल्ती नभएको भन्दै समितिलाई गल्ती कमजोरी हुन नदिने प्रतिबद्धता जनाए। उनले गल्ती भएको खण्डमा कारबाही भोग्न तयार रहेको बताए।
व्यवस्थापन समितिले कागजात संकलन गरेपछि बोर्डले आशयपत्र दिने र ३० दिनभित्रमा सबैलाई लाइसेन्स दिनुपर्ने व्यवस्था भएकाले समितिले पत्र पठाए पनि समय अभावका कारण लाइसेन्स वितरण गरिएको उनको प्रस्टीकरण थियो। उनले आशयपत्र दिएका ४३ मध्ये १८ ले मात्रै किन लाइसेन्स पाए भन्ने सन्दर्भमा अध्ययनको कमी भएको टिप्पणी गरे। उनले आशयपत्र दिएर पूर्वाधार तयार पार्ने र मापदण्ड पूरा गर्ने सबैलाई लाइसेन्स पाउने बताए।
उनले लाइसेन्सेको आशायपत्र र लाइसेन्स दिने क्रममा सम्पूर्ण जिम्मेवारी वहन धितोपत्र बोर्डको सञ्चालक समितिले गर्ने बताए। धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको इजाजत दिने प्रक्रियामा कागजपत्र हेर्ने काम व्यवस्थापनले गरेपछि मात्रै बोर्डले इजाजत दिने वा नदिने निर्णय गरेको उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
