धुर्मुस–सुन्तली फाउन्डेसनले तिर्नुपर्ने करमा छुट, नेपाल–चीन सीमामा स्तम्भ पुनर्स्थापना गर्न टोली गठन

मन्त्रिपरिषद् बैठकले नेपाल–चीन सिमानाको तातोपानी झ्याङ्मुस्थित सीमा स्तम्भलाई संयुक्त रूपमा पुनः स्थापना गर्न टोली गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

मन्त्रिपरिषद् बैठक।

काठमाडौँ– सरकारले धुर्मुस–सुन्तली फाउन्डेसन तिर्नुपर्ने गिरानचौर एकीकृत नमूना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले नेपाल–चीन सिमानाको तातोपानी झ्याङ्मुस्थित सीमा स्तम्भलाई संयुक्त रूपमा पुनः स्थापना गर्न टोली गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

“धुर्मुस सुन्तली फाउन्डेसनले गिरानचौर एकीकृत नमूना बस्ती पुनः निर्माण तथा पर्यटन प्रवर्द्धनको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरण गर्दा जुन कर थियो, त्यसको चुक्ता, असुलउपर गर्नुपर्ने अग्रिम कर छुट दिने भन्ने निर्णय भएको छ। नेपाल चीन सीमानाको तातोपानी झ्याङ्मुस्थित सीमाचिह्न स्तम्भ (५३) १ लाई संयुक्त रूपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने भन्ने निर्णय भएको छ,” उनले भनिन्।

मन्त्री शर्माले मन्त्रिपरिषद्मा विपद्का बारेमा थप व्यवस्थापन गर्नेबारेमा छलफल भएको बताइन्।