सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब पुग्यो

गत वैशाख महिनामा सरकारले यो आर्थिक वर्षकै सबैभन्दा धेरै ६७ अर्ब ७० करोड आन्तरिक ऋण उठाएको थियो।

काठमाडौँ– नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको जेठ मसान्तसम्मको विवरणअनुसार सार्वजनिक ऋणको भार साढे २१ खर्ब नाघेको हो।

यसमध्ये आन्तरिक ऋण १० खर्ब ९९ अर्ब ७२ करोड पुगेको छ भने बहुपक्षीय तथा दुईपक्षीय दाताहरुलाई तिर्न बाँकी बाह्य ऋण १० खर्ब ७३ अर्ब ५२ रहेको ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षको ११ महिनामा मात्र ३ खर्ब ऋण थपिएको छ। त्यसमध्ये २ खर्ब २० अर्ब ३८ करोड आन्तरिक ऋण उठाइएको छ भने ७९ अर्ब ६७ करोड रूपैयाँ बाह्य ऋण लिइएको छ।

गत वैशाख महिनामा सरकारले यो आर्थिक वर्षकै सबैभन्दा धेरै ६७ अर्ब ७० करोड आन्तरिक ऋण उठाएको थियो। उक्त महिना ५ अर्ब १४ करोड बाह्य ऋण प्राप्त भएको कार्यालयको तथ्याकं छ। त्यस्तै, जेठ महिनामा नेपालको ४३ अर्ब ८३ करोड रूपैयाँ सार्वजनिक ऋण थपिएको छ।

गत साउनदेखि जेठ मसान्तसम्म आन्तरिक ऋणदातालाई १ खर्ब ८ अर्ब र बाह्य दातालाई करिब ३२ अर्ब सावाँ भुक्तानी गरेको छ। यसबीचमा सरकारले आन्तरिक ऋणको ब्याज मात्र ५६ अर्ब २६ करोड तिरेको छ। बाह्य ऋणको ८ अर्ब ६८ करोड रुपैयाँ ब्याज पनि सरकारले चुक्ता गरेको कार्यालयले जनाएको छ।

राजस्वले खर्च धान्न नसक्दा बजेट घाटापूर्ति गर्न सरकारले ऋण लिनुपर्ने हुन्छ। चालु आर्थिक वर्षमा राजश्व परिचालन लक्ष्यको तुलनामा कम हुँदा ऋणको भार पनि बढेको छ।