प्रधानमन्त्री कप क्रिकेटः एपीएफ सेमिफाइनलमा

एपीएफले दिएको २३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४८ ओभर १ बलमा सबै विकेट गुमाएर १९० रन मात्र बनाउन सक्यो।

काठमाडौं– कर्णाली प्रदेशमाथि ४४ रनको जित निकाल्दै विभागीय टोली एपीएफ काठमाडौंमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा शनिबार भएको खेलमा एपीएफले कर्णालीलाई ४४ रनले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो। 

एपीएफले दिएको २३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४८ ओभर १ बलमा सबै विकेट गुमाएर १९० रन मात्र बनाउन सक्यो। कर्णालीका लागि रवीन्द्र शाहीले ८० रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै, विपीन शाहीले ३४ रन जोड्दा अर्जुन घर्तीले २४ तथा दिनेश अधिकारीले २० रन बनाए। एपीएफका मौसम ढकालले ४ विकेट लिए। कमल ऐरी र भुवन कार्कीले २/२ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले आसिफ शेखको शतकीय पारीको सहयोगमा ४७ ओभर २ बलमा अलआउट हुँदै २ सय ३४ रन बनाएको थियो। एपीएफका लागि आसिफ शेखले १३० रनको शतकीय इनिङ खेले। १३६ बलको सामना गरेका आसिफले १५ चौका र एक छक्का प्रहार गरेका थिए। 

यस्तै, भुवन कार्कीले २३ रन जोड्दा प्रदीप ऐरीले २० रन बनाए। लोकेश बम र दीपक बोहराले १०/१० रन बनाए। कर्णालीका दीपेन्द्र रावत र प्रकाश जैसीले ३/३ विकेट लिए। दिवन पुनले २ विकेट लिए। 

यस जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेर अन्तिम चारमा स्थान पक्का गरेको हो। एपीएफ शीर्ष स्थानमा रहेको छ। कर्णालीले भने लगातार दोस्रो हार भोगेको छ।

लुम्बिनी पराजित
प्रतियोगिताअन्तर्गत शनिबार मूलपानी मैदानमा सम्पन्न खेलमा मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई ९२ रनले पराजित गर्‍यो। मधेशले दिएको २६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ५० ओभर सकिन एक ओभर बाँकी रहँदा सबै विकेट गुमाएर मात्र १६७ रन बनाउन सक्यो। जवाफी ब्याटिङ गरेको लुम्बिनीका लागि विशालविक्रम केसीले सर्वाधिक ३४ रनको पारी खेल्दा कृष्ण कार्कीले ३१, सन्दिप रिजालले २३ र बसिर अहम्मद तथा मोहम्मद हुसेनले समान १५ रनको पारी खेलेका थिए। 

यस्तै, अभिषेक गौतम २ रनमा अविजित रहे। लुम्बिनीको इनिङलाई सस्तैमा रोक्ने क्रममा मधेशका राजेश यादव र प्रदीप पासवानले समान ३/३ विकेट लिए। यस्तै, हरिशंकर साहले २ विकेट निकाल्दा रूपेश सिंहको नाममा एक विकेट रह्यो।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेशले ४८ ओभर ४ बलमा सबै विकेट गुमाएर २५९ रन बनाएको थियो। ओपनर सन्तोष कार्की र हरिशंकर शाहले अर्थसतकीय पारी खेले। सन्तोषले ५० रन बनाउँदा हरिशंकर शाहले ७६ रनको  व्यक्तिगत स्कोर बनाएका थिए। 

यस्तै, अनिल साहले पनि अर्धसतकीय पारी खेल्दा विवेक यादवले २१, मोहम्मद आदिल अलामले १२ रन जोड्नुबाहेक अन्यले राम्रो स्कोर बटुल्न सकेनन्। मधेसको सबै विकेट निकाल्ने क्रममा कृष्ण काकीले सर्वाधिक ३ विकेट हात पारे। अनिल खरेलले २ विकेट निकाल्दा बसिर अहम्मद, देव खनाल, मोहम्मद हुसेनको नाममा १/१ विकेट रह्यो।

प्रतियोगितामा आइतबार पनि दुई खेल हुनेछन्। मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब तथा कीर्तिपुर मैदानमा प्रदेश १ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ।