मधेशबाट आएका ‘मिटरब्याजीहरू’को माइतीघरमा धर्ना

पीडित लेनदेन संघर्ष समितिका नाममा माइतीघरमा प्रदर्शनमा उत्रिएका मिटरव्याजीहरूले लेनदेन कारोबार सहज गर्नुपर्ने, कानून बमोजिम गरिएको लगानी कानून बमोजिम नै फिर्ता हुनुपर्ने लगायत माग राखेका छन्।

काठमाडौँ- तराई मधेशका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरूले लेनदेन कारोबारलाई सहज बनाउन माग गर्दै बुधबार माइतीघरमा धर्ना दिएका छन्। 

पीडित लेनदेन संघर्ष समितिका नाममा सिरहा, धनुषा, रौतहटलगायत मधेशका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरूले बुधवार माइतीघरमा धर्ना दिएका हुन्। परापूर्वकालदेखिको आपसी लेनदेनको व्यवहारलाई भताभुंग पार्न खोजिएको भन्दै आफूहरूमाथि कारबाही गर्न ल्याइएको अध्यादेश तत्काल खारेज गर्न उनीहरूले माग गरेका छन्।

प्रदर्शनमा उत्रिएकाहरूले स्थानीय निकायमा जाँचबुझ गरेर प्रमाणको आधारमा उजुरी दर्ता गरिनुपर्ने, हाल दर्ता गरिएका उजुरीलाई जाँचबुझ तथा छलफलको लागि स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने, आफूहरूले दिएको पैसाको सावाँ र व्याज उपलब्ध गराउनुपर्नेलगायतका माग राखेका छन्। 

त्यसैगरी, लेनदेन कारोबार सहज गर्नुपर्ने, अदालतमा कपाली तमसुकको मुद्दा दर्ता गर्नुपर्ने, कानून बमोजिम गरिएको लगानी कानून बमोजिम नै फिर्ता गर्नुपर्ने माग पनि राखेका छन्। प्रदर्शनकारीहरूले विभिन्न माग लेखिएको प्लाकार्ड र व्यानर बोकेका थिए।