जेठ अन्तिम सातदेखि धमाधम रोपाइँ गर्ने किसान यतिबेला आकाश हेर्दै बस्न बाध्य छन्। रोप्नका लागि तयार भएको बिउ ब्याडमा नै सुकेर मर्न थालेपछि उनीहरू चिन्तित छन्।
ढोरपाटन– वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ राखे, तर जेठ लागेपछि वर्षा रोकियो। लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाटेर धानको बीउ सुक्न थालेका छन्। धानको बीउसँगै बारीमा मकैका बोटसमेत सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन्।
अघिल्ला वर्षमा यति बेला यस क्षेत्रका खेतमा कृषकले धान रोप्न शुरू गर्थे। अहिले वर्षा नहुँदा खोलानालासमेत सुकेका छन्। खोलानाला सुक्दा सिँचाइको चरम अभावमा रहेका किसानलाई धानको बीउ र कुटाउने बेलाका मकै जोगाउन हम्मेहम्मे परेको छ।
जेठ अन्तिम सातदेखि रोपाइँ गर्ने किसान यतिबेला आकाश हेर्दै बस्न बाध्य छन्। कतिपय किसानको ब्याडमा रोप्नका लागि तयार भएका बिरुवासमेत सुकेर मर्न थालेका हुन्। गएका वर्षमा यतिबेला ६० प्रतिशत हाराहारी रोपाइँ हुने गरेकामा यसवर्ष २० प्रतिशत मात्रै रोपाइँ भएको बडिगाडका कृषक प्रेमबहादुर क्षेत्रीले बताए। खडेरीका कारण धानसँगै मकै र कोदोको बीउसमेत सुकेको उनको भनाइ छ।
“जेठ २०-२२ मै रोपाइँ गर्ने भनेर बैशाखमा ब्याड राखियो। अहिले धानको बीउ हुर्किएका छन्। पानी पर्दैन,” उनले भने, “बारीमा एकोहोराउने बेलाका मकै मर्न थाले। कोदोको बीउ पनि त्यस्तै भएको छ। बीउ जोगाउनै गाह्रो भयो।”
गहुँ थन्क्याएलगत्तै खनजोत गरेर धान रोप्नका लागि तयार हुने भए पनि पानी नपर्दा खेत बाँझोसमेत मार्न नपाएको कृषक तुलबहादुर जिसीले बताए। ठाडो खोला सुकेको हुँदा सिँचाइ गर्न नपाएको उनको भनाइ छ।
“अब लगातार हप्ता दिनसम्म ठूलो पानी परेन भने रोपाइँ गर्न सम्भव छैन। खोलानाला बढे भने मात्रै रोपाइँ गर्न सकिएला। अहिले गाउँका खोलामा कमिला हिँड्छन्। पानी छैन,” उनले भने।
अर्का किसान निलमाया विकले पानी नपर्दा मकैको बिरुवा सुकेर नष्ट हुन थालेको बताइन्। मकैसँगै लगाएको कोदोको बीउ पनि कामै नलाग्ने गरी सुकेको विकको भनाइ छ। घर नजिक छेउमा रहेको बारीमा खानेपानीको पाइपबाट पानी लगाएर केही मकै र कोदाको बीउ हुर्काउन सफल भएको उनले सुनाइन्।
कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले हालसम्म जिल्लामा १२ प्रतिशत मात्रै रोपाइँ भएको बताए। खडेरी पर्दा कृषकले बीउ तयार गरे पनि रोपाइँ गर्न नसकेको उनको भनाइ छ। उनका अनुसार यति बेलासम्म २५ प्रतिशत रोपाइँ सकिनुपर्ने थियो। वैशाखको वर्षाले कृषक उत्साहित भएर धेरै बीउ उत्पादन गरेको हुँदा रोपाइँ क्षेत्रफल बढ्न सम्भावना बढेको प्रमुख भट्टराईले बताए।
बागलुङमा ४६ हजार १४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार ५२३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ। त्यसमध्ये छ हजार १४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
