प्रधानमन्त्रीको सचिवालय विघटन गर्न सांसदको माग

सत्तारूढ दल एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले प्रधानमन्त्री दाहालको सचिवालय अस्तव्यस्त रहेको दाबी गर्दै उनलाई आफ्नो सचिवालय विघटन गर्न सुझाव दिएका छन्।

काठमाडौँ– सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय विघटन गर्न माग गरेका छन्। सत्तारूढ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री दाहालले आफ्नो सचिवालय विघटन गर्नुपर्ने बताए।

‘प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रम’का लागि सांसदले सोधेका प्रश्नको जवाफसमेत तयार गरिदिन नसक्ने प्रधानमन्त्रीको सचिवालय आवश्यक नभएको उनको भनाइ थियो। 

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षक माथिको छलफलमा भाग लिँदै उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री दाहालको सचिवालय अस्तव्यस्त रहेको दाबी गरे। 

“सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालय अस्तव्यस्त छ। अस्तव्यस्त छ भन्ने खालको कुरामा आज सम्माननीय प्रधानमन्त्रीले उत्तर दिँदै गर्दा एक जना माननीयले सोधेको प्रश्नको उत्तर पनि आएको रहेनछ। यो त ३ दिनअगाडि प्रश्न गरेको हो नि! उहाँको सचिवालयले तयार गरिदिनु पर्थ्यो कि पर्दैन थियो? विघटन गरिदिए हुन्छ त्यस्ता सचिवालय,” उनले भने।

उनले प्रधानमन्त्री दाहाललाई ‘मन्त्रालयहरू तपाईंको नेतृत्वमा चलिरहेका छन् कि छैनन्?’ भन्दै प्रश्नसमेत गरे। प्रधानमन्त्री दाहालले आफूमा शक्ति केन्द्रित हुने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत निकायहरूलाई कायमै राखेको भन्दै उपाध्यक्ष पाण्डेले आपत्ति जनाए। उनले सरकारले ल्याएको बजेट सन्तुलित नभएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे।

त्यसअघि नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पनि प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती र सचिवालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न माग गरेका थिए।

विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुतिसहित छलफलमा भाग लिँदै उनले प्रधानमन्त्रीको सचिवालयमा ७९ जनाको दरबन्दी रहनु आवश्यकताभन्दा बढी भएको बताए। उनले भएका कर्मचारीलाई पनि प्रधानमन्त्री दाहालले प्रभावकारी रूपमा परिचालन गर्न नसकिएको टिप्पणीसमेत गरे।