कांग्रेसको संकल्प स्पष्ट नहुँदा जनता अलमलमा परे: गगन थापा

निर्वाचनबाट देश हाँक्ने जिम्मेवारी पाएको कांग्रेसले लय पक्रन नसक्दा जनता निराश भएको थापाको भनाइ छ।

काठमाडौँ– कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसले लय पक्रन नसक्दा जनतामा निराशा छाएको बताएका छन्।

निर्वाचनबाट देश हाँक्ने जिम्मेवारी पाएको कांग्रेसले लय पक्रन नसक्दा जनता निराश भएको थापाको भनाइ छ। शनिबार काठमाडौँ–४ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कांग्रेस अलमलिएको अवस्थामा भएकाले गति लिन नसकेको बताए।

“२०६० सालमा कांग्रेसमा जनताको आकर्षण थियो किनभने त्यसबेला यो पार्टीसँग संकल्प थियो मुलुकलाई हिंसाबाट बाहिर निकाल्ने र सपना थियो शान्तिपूर्ण राजनीतिमा नेपाललाई माथि उठाउने। २०७० सालमा पनि त्यस्तै थियो, संविधान नबनेर अस्तव्यस्त भएको बेलामा संविधानसभाबाट संविधान बनाउने  र नेपाललाई नयाँ बनाउने हाम्रो संकल्प थियो,” थापाले भने, एउटा पार्टी केले बाँच्दो रहेछ भने उसँग वर्तमानमा संकल्प हुनुपर्ने रहेछ। भविष्यका सन्दर्भमा परिकल्पना हुनुपर्ने रहेछ। कांग्रेससँग आज त्यस्तो संकल्प छैन।”

पछिल्लो समय पुरानो भनेको खराब हो भन्ने भाष्य सिर्जना भएकाले समस्या हुन थालेको थापाले बताए।