कार्यकर्तालाई रवि लामिछानेले भने– संयमित बनौँ, राजनीतिमा गाली र ताली दुवै सहनुपर्छ

निष्ठाका साथ काम गर्दा २०८४ सालमा रास्वपा पहिलो पार्टी बन्ने दाबी लामिछानेको छ।

काठमाडौँ– रास्वपाका सभापति रवि लामिछानेले आफ्ना कार्यकर्तालाई संयमित बन्न आग्रह गरेका छन्।

शनिबार पार्टीको धादिङ–काठमाडौँ सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै लामिछानेले कार्यकर्ता र समर्थक सामाजिक सञ्जालमा असहिष्णु भएर गालिगलौजमा उत्रिएको आरोप लागेको भन्दै राजनीतिमा गाली र ताली दुवै सहनुपर्ने बताएका हुन्।

“हामीमाथि सामाजिक सञ्जालमा असहिष्णु टिप्पणी गर्ने, असाध्यै गालीगलौज गर्ने गरेको आरोप छ। तपाईँहरूले त्यस्तो गरिदिँदा दलका नेतालाई असर गर्छ,” उनले भने, “हामीलाई माया गर्ने, समर्थन गर्ने साथीहरूसँग बिन्ती नगरे मैले कसका अगाडि गर्ने? हामीले घृणा फैलाउने होइन। आलोचनालाई तल्लो तहमा गएर टिप्पणी गर्न हुन्न।”

तर्कमा रहेर मुद्दामा बहस गरे पनि अमर्यादित भएर गालीगलौजमा उत्रनुनहुने उनको धारणा थियो। निष्ठाका साथ काम गर्दा २०८४ मा रास्वपा पहिलो पार्टी बन्ने दाबी लामिछानेको छ।