मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानले १४४ कर्मचारी कटौती गर्ने

प्रतिष्ठानको कार्यकारी परिषद्को बैठकले बजेट अभावका कारण आगामी आर्थिक वर्षमा तलव र भता वितरण गर्न नसक्ने भन्दै चालु आवमा नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेको छ।

मकवानपुर– आर्थिक अभाव भएको भन्दै हेटौँडामा सञ्चालित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राविधिक चिकित्सकसहित एक सय ४४ प्राविधिक र प्रशासनिक कर्मचारी कटौती गर्ने निर्णय गरेको छ।

प्रतिष्ठानको कार्यकारी परिषद्को बैठकले बजेट अभावका कारण आगामी आर्थिक वर्षमा तलव र भता वितरण गर्न नसक्ने भन्दै चालु आवमा नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेको हो।

प्रतिष्ठान र हेटौँडा अस्पतालका लागि संघीय र प्रदेश सरकारले चालु आवको तुलनामा आगामी आर्थिक वर्षमा कम बजेट विनियोजन भएकाले तलब र भत्ता वितरणमा समस्या हुने भएको प्रतिष्ठानका रजिस्ट्रार राजेश प्रसाईंले बताए।

प्रदेश सरकारले चालु आवको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रतिष्ठानको सात करोड १९ लाख बजेट कम अर्थात् १२ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

कटौती हुनेमा एमबीबीएस डाक्टर १५ जना, आर्युवेद चिकित्सक एक, फार्मासिस्ट, रेडियोलोजिस्ट, ल्याव टेकनिसियनलगायत प्रविधिक कर्मचारीगरी एक सय तीन जना र प्रशासनमा २५ कर्मचारी छन्। साथै सरसफाइमा कार्यरत ३५ र सुरक्षातर्फ खटाइएका २५ कर्मचार पनि कटौती गरिने भएको छ।