कोरिया जान नपाएको भन्दै श्रमिकले घेरे ईपीएस शाखा

सन् २०२२ सेप्टेम्बरमा परीक्षा दिएर पास भए पनि अझै कोरिया जान नपाएको श्रमिकहरूको गुनासो छ।

तस्वीरहरू: कृष्पा श्रेष्ठ

काठमाडौँ– भाषा परीक्षा पास भएर पनि कोरिया जान नपाएको भन्दै श्रमिकहरूले ईपीएस कोरिया शाखा घेराउ गरेका छन्।

कोरियाबाट फर्किएका श्रमिकले नियमित परीक्षामा भाग लिएर नाम निकालेपछि पनि ‘लेबर एग्रिमेन्ट’ जारी नभएको भन्दै कार्यालय घेराउ गरेका हुन्।

सन् २०२२ सेप्टेम्बरमा परीक्षा दिएर पास भए पनि अझै कोरिया जान नपाएको उनीहरूको भनाइ छ। नेपाल सरकारले कोरियासँग वार्ता गरेर पीडितको माग सम्बोधन गर्नुपर्ने श्रमिकको माग छ।

दुःख गरेर भाषा परीक्षा पास हुँदा पनि कामदारलाई लैजान रोजगारदाताले आनाकानी गरेकामा उनीहरूको आपत्ति छ। नयाँको तुलनामा आफूहरूको ‘इस्यु’ अत्यन्तै न्यून भएकाले समान रूपमा इस्यु गरिदिन उनीहरूको अनुरोध छ।

कोरिया ‘रिटर्नी’को इमानदारिता र मेहनतको सम्मान गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउन माग गरिएको छ।