ललिता निवास जग्गा हिनामिना प्रकरणमा निर्वाचन आयोगका पूर्वआयुक्त शाह पक्राउ

ललिता निवास जग्गा हिनामिना प्रकरणमा सीआईबीको टोलीले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाहलाई नियन्त्रणमा लिएको छ।

काठमाडौँ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा उनलाई ब्युरोको टोलीले मंगलबार दिउँसो काठमाडौँबाट पक्राउ गरेको हो।

ब्युरोका प्रवक्ता सञ्जयसिंह थापाले अनुसन्धानका क्रममा शाहलाई उनकै निवासबाट नियन्त्रणमा लिइएको बताए। सरकारी सेवामा रहँदा ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको अनुसन्धानबाट खुलेपछि शाहलाई ब्युरोको टोलीले नियन्त्रणमा लिएको हो। प्रवक्ता थापाले यो प्रकरणमा अहिलेसम्म सात जनालाई नियन्त्रणमा लिइएको र विस्तृत विवरण बुधबार सार्वजनिक गरिने बताए।

प्रहरीले यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ६ जनालाई पक्राउ गरेको थियो। ललिता निवास जग्गा प्रकरणमा किर्ते र ठगी मुद्दामा अनुसन्धान गरिरहेको ब्युरोले सोही क्रममा उनीहरूलाई पक्राउ गरेको हो।