एनपीएलमा अनलाइन सट्टाबाजीको आरोपमा काठमाडौँबाट ८ भारतीय नागरिक पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एनपीएल क्रिकेट प्रतियोगितामा अवैध अनलाइन सट्टाबाजी गराएको आरोपमा आठ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

काठमाडौँ – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा अवैध अनलाइन सट्टाबाजी गराएको आरोपमा आठ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

कार्यालयको टोलीले उनीहरूलाई काठमाडौँ महानगरपालिकाको वडा नं. १४, बल्खुबाट नियन्त्रणमा लिएको हो। हाल उनीहरू काठमाडौँ महानगरपालिका–२६, सामाखुसी क्षेत्रमा बस्दै आएका थिए। पक्राउ परेका व्यक्तिहरूबाट प्रहरीले १५ थान मोबाइलसमेत बरामद गरेको छ।

प्रहरी उपरीक्षक तथा सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार, उनीहरू नेपाल क्रिकेट संघ (क्यान) द्वारा मंसिर १ गतेदेखि सञ्चालन भइरहेको एनपीएलको दोस्रो संस्करणको क्रिकेट प्रतियोगितामा सहभागी भई अनलाइन माध्यमबाट ‘बेटाकुलर डट् लाइभ’ नामक सट्टाबाजी साइट प्रयोग गरी खेलको हारजितमा रकम लगानी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

पक्राउ पर्ने सबै भारतको आन्ध्र प्रदेश, प्रकासम जिल्लाका बासिन्दा हुन्। पक्राउ पर्नेहरूमा ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल रहेका छन्।

उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुरअन्तर्गत कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको कार्यालयले जनाएको छ।